हरिवन–सर्लाहीको हरिवन नगरपालिका रैथाने खेती बाली संरक्षणमा जुटेको छ ।
पछिल्लो समय परम्परागत खेती प्रणाली सँगै रैथानेबाली समेत लोप हुन थालेपछी हरिवन नगरपालिका संरक्षणमा जुटेको हो । यस क्षेत्रमा केही वर्ष पहिला सम्म प्रसस्त मात्रामा कोदो, आलस, कुर्थी, फापर लगायतका रैथानेबाली उत्पादन हुने गरेको थियो । मनग्य आम्दानी लिने लोभमा किसानहरू आयातित खेती बाली तर्फ आकर्षित हुन थाले पछि रैथानेबाली हराउन थालेको हरिवन नगरपालिका मेयर रमेश बुढाथोकी (कमल)ले बताउनु भयो ।
स्वास्थ्य र पोषणको हिसाबले निकै उपयोगी रैथानेबाली संरक्षण गर्न पालिकाले कार्यक्रम सुरु गरेको मेयर बुढाथोकीको धारणा छ । ‘‘मानिस स्वादमा केन्द्रित भए ।’’ मेयर बुढाथोकीले भन्नुभयो, ‘‘नमिठो, कम फल्ने, दुखिया खेती भनेर हेपेको रैथाने वाली त मानव स्वास्थ्यको लागि अमृत समान रहेछ । हामीले परिकल्पना गरेको स्वस्थ नगर औषधीय गुण भएको रैथाने खेती विना सम्भव नभएको ठहर गर्दै कार्यक्रम अघि सारेका हौँ ।’’
अब यस पालिकामा कोदो, फापर, आलस, कुर्ती खेती गर्ने किसानले उत्पादन परिमाणको हिसाबले अनुदान प्राप्त गर्ने कृषि शाखा प्रमुख प्रविण तामाङको भनाई छ । उहाँका अनुसार कोदो उत्पादन गर्ने किसानले प्रति क्वीन्टल २ हजार र कुर्थी उत्पादन गर्ने किसानले प्रति क्वीन्टल २ हजार ५०० का दरले अनुदान प्रदान गरिएको हो । यस आर्थिक वर्षमा आलस र फापर उत्पादनमा भने किसानले चासो नदेखाएका उहाँले बताउनु भयो ।
आगामी आर्थिक वर्षमा यस पालिकाले जुनेलो खेतीलाई समेत कार्यक्रममा समेट्ने उपमेयर हरिमाया घलानले जानकारी दिनुभयो । किसानले उत्पादन गरेको रैथाने वालीको उपभोग मात्र गर्ने हो भनेपनि धेरै प्रकारका स्वास्थ्य समस्या न्यूनिकरण हुने उहाँको दावी छ । ‘‘किसानले अन्न बेचेर कमाउनु पर्छ भन्ने छैन ।’’ उहाँले भन्नुभयो, ‘‘उत्पादन गरेको अन्नबाली बेचेर उपचार गर्नु पर्ने रोग आलस, कोदो, फापर खाएर नियन्त्रण गर्न सक्दा पनि फाइदा हुने रहेछ ।’’
नगरको रैथाने खेती प्रोत्साहन कार्यविधि अनुसार किसानले खेती लगाउनु भन्दा पहिला नगरमा सूचिकृत हुनु पर्छ । यसले उत्पादन तथ्याङ्क समेत पालिकामा रहने उहाँको भनाई छ । पहिलो पटक यहाँका किसानले नगरमा सूचिकृत भएर ८६.६७ क्वीन्टल कोदो र १२.५ क्वीन्टल कुर्थी(मस्याङ) उत्पादन गर्नु भएको छ । कार्यक्रम अन्तरगत किसानलाई नगरले कुल दुई लाख ४० हजार ५९० रुपैयाँ अनुदान समेत वितरण गरेको छ ।
प्रोत्साहन कार्यक्रममा सहभागि किसान दुर्गा तामाङले आफूहरूले नियमित गर्दै आएको खेतीमा प्रोत्साहन रकम पाउँदा उत्साह थपिएको बताउनु भयो । यस पहिला थोरै लगाउने गरेकोमा यस वर्ष खेती बढाएको उहाँको भनाई छ । नगरले प्रोत्साहन गरे किसान रैथाने खेती गर्न तयार रहेको अर्का किसान सुवास श्रेष्ठले सुनाउनु भयो । उपयुक्त मौसम र बिउ बिजन अभावमा उत्पादन बिग्रिँदा किसान मारमा पर्ने भएकाले त्यता स्थानीय तहले ध्यान दिनुपर्ने उहाँको गुनासो छ ।
यस्तै अर्का किसान जित बहादुर दोङले खेती प्रविधि सहयोग गरिदिन नगर सँग आग्रह गर्नु भयो । कोदो झार्ने थ्रेसर, खेत जोत्न मिनी टेलर लगायतका उपकरण सहुलियत पाए थप सहज हुने उहाँको भनाई थियो । गाउँ ठाउँमा गोरु पाल्ने क्रम कम हुँदै जाँदा खेत बाझै बसेको भन्दै सहुलियत पूर्ण उपकरण सहयोगले किसानलाई थप प्रेरणा मिल्ने उहाँको भनाई छ । यस पालिकाले ११ वटै वडामा कार्यक्रम संचालन गरेको छ ।
विषेश गरी चुरे क्षेत्रका किसानले रैथानेबाली लगाउने गरेका छन् ।

