बलरा–सर्लाहीको बलरामा पानी खान गएका पुजारीको ट्युबेलबाट करेन्ट लागेर मृत्यु भएको छ ।
मङ्गलबार दिउसो करेन्ट लागेर गोडैता नगरपालिका–२, बस्ने अन्दाजी ७० वर्षका महादेव महतोको मृत्यु भएको हो । महतो बलरा नगरपालिका–५, महतो टोल बस्ने विजय महतोको घरमा जजमानी (पुजा) गर्न पुग्नु भएको थियो । पानी प्यास लागेपछि विजयको आँगनमा मोटर जडान भएको ट्युबेल(चापाकल)मा पानी खाने क्रममा पुजारी महतोलाई करेन्ट लागेको हो ।
करेन्ट लागेर गम्भिर बन्नु भएका उहाँलाई स्थानीयले तत्काल प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिनुभयो । अस्पताल पुर्याएको पुजारी महतोको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकको सव परीक्षणको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

