Wednesday, May 21, 2025

मेयरलाइ बालबालिकाको प्रश्न, हामीले कहिले सम्म छिमेकी पालिकामा पढ्न जाने ?

ताजा / भरखरै प्राप्त

हरिपुर्वा– सर्लाहीको हरिपुर्वा नगरपालिकाका विद्यार्थीहरूले नगरका मेयर सँग छिमेकी पालिकाका पढ्न जानु परेको गुनासो गरेका छन ।

बिहीबार हरिपुर्वा नगरपालिकामा बागमती सेवा समाज नेपाल हरिवनले आयोजना गरेको बालबालिका सँग मेयर कार्यक्रममा नगरमा शैक्षिक अवस्था खराब भएको विद्यार्थीहरुले गुनासो गरेका हुन । हरिपुर्वा नगरपालिका–७, डुमरिया बस्ने अविनाश भण्डारीले गाउँमै रहेको विद्यालयमा पठनपाठन हुन छाडेपछि छिमेकी पालिका ईश्वरपुर जानुपरेको बताए ।

उनले मेयर विनोद कुमार साह सँग कहिले सम्म छिमेकी पालिकाको स्कुल पढन जानु ? भन्दै प्रश्न समेत गरे । भण्डारी अहिले कक्षा ९ मा पढदैछन । हरिपुर्वा नगरपालिका–४, स्थित गाउँमा रहेको श्री जनता आधारभुत विद्यालयमा नियमित पठनपाठन नहुने, शिक्षकहरू नियमित नआउने, आएपनि कक्षामा नजाने समस्या रहेको उनको भनाई थियो ।

‘‘विद्यालय विद्यालय जस्तो छैन् ।’’ छात्र भण्डारीले भने, ‘‘विद्यालय नै तर्साउने घर जस्तो छ । हामी कसरी उत्साहित भएर पढ्नु ?’’ स्थानीय जनप्रतिनिधिले समेत बेवास्ता गरेको भण्डारीको गुनासो छ । लामो बाटो छिचोलेर आफूसँगै गाउँका धेरै बालबालिकाहरू अहिले दैनिक ईश्वरपुर नगरपालिका–१५, श्री जनता माध्यामिक विद्यालय सोकनाहा पढ्न जाने गरेको उनको भनाई छ ।

गाउँमा विद्यालय नियमित नचलेका कारण बालबालिका स्कुल नियमित जादैनन् । यसले गर्दा कुलतमा लाग्ने, बीचैमा पढाइ छाडेर हिड्ने जस्तो समस्या बढ्दै गएको छ । यसले गर्दा बालबालिकाको पठनपाठन पुरा हुँदैन । धेरै बालबालिकाहरू अहिले पनि पूर्ण रुपमा कुलमा लागेका भन्दै उनले चिन्ता व्यक्त गरे । विद्यालय नियमित गरिदिन र आवश्यकता अनुसार शिक्षक र भौतिक संरचनाको प्रबन्ध गरिदिन समेत भण्डारीले मेयर साह सँग माग गरे ।

हरिपुर्वा नगरपालिका–६, श्री केश्वरगरिब् जनता नमुना माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा निलम कुमारी साहको गुनासो पनि उस्तै छ । विद्यालय पठन पाठनमा नभइ भद्रगोल अवस्थामा नमुना भएको उनको दावी थियो । शिक्षा नीतिमा तराईका जिल्लामा एउटा कक्षा कोठामा धेरैमा ४० जना विद्यार्थी राख्न सकिने व्यवस्था छ । तर, यस विद्यालयमा एउटै कक्षामा १५० जना सम्म विद्यार्थी राख्ने गरेको छ ।

यसरी सञ्चालन गरेको कक्षामा पढ्ने माहोल नभएको अर्का छात्रा रिता महतोले बताइन । ‘‘विद्यालयमा कक्षा कोठा पर्याप्त नहुँदा एउटै कक्षामा धेरै विद्यार्थी हुन्छन ।’’ उनले भनिन, ‘‘अगाडि बसेर शिक्षकले पढाएको पछाडि बस्नेले सुन्न सक्दैनन् । कसरी बुुझनु अनि परीक्षामा लेख्नु ।’’ आफूहरूले विद्यालय तथा बाल क्लबको सहायतामा पालिकामा माग राख्दा समेत सुनवाई नभएको उनको भनाई थियो । साह यस विद्यालयको कक्षा ९ मा पढ्ने छात्रा हुन ।

नगरमा रहेका अधिकांश विद्यालयको हालत उस्तै रहेको सहभागि बालबालिकाहरूको भनाई थियो । छात्राछात्र नभएको विद्यालयमा भौतिक संरचना पर्याप्त हुने, विद्यार्थी भएका विद्यालयमा सुविधा नपाइने अवस्था भोगिरहेको साहले बताए । स्थानीय सरकार आएको दोस्रो कार्यकालको तीन वर्ष सकिन लाग्दा समेत स्कुल वर्षातमा तलाउ र हिउँदमा धुलाम्मे बन्दा समस्या भएको उनको भनाई थियो ।

अर्को तर्फ विद्यालयमा बेलाबेलामा हुने विवादका कारण सम्पूर्ण पठनपाठन नै अवरुद्ध हुने गरेको छ । यस्तो अवस्थामा सबैको पठनपाठन प्रभावित बनिरहेको सहभागि छात्र राजु रामले सुनाए । ‘‘गत शैक्षिक सत्रमा समेत विद्यार्थी र विद्यालय प्रशासन बिच विवाद भयो ।’’ उनले भने, ‘‘सोही विवादले निकै समय विद्यालय बन्द रह्यो । परीक्षाको मुखैमा पठन पाठन रोकिदा परीक्षाको समयमा धेरै समस्या भएको उहाँको अनुभव थियो ।’’

हरिपूर्वा नगरपालिका–१, निवासी सिम्रन खातुनले किशोर किशोरीहरूमा क्यान्सर जस्तै फैलिरहेको लागू पदार्थ दुव्र्यसनी नियन्त्रण गरिदिन आग्रह गरिन । धेरै जसो विपन्न परिवारका किशोर किशोरीहरू कुलमा फसेका उनको भनाई छ । यसले बिस्तारै परिवार सँगै समाजलाई नै कुरुप बनाइरहेको खातुनले सुनाइन । गाउँ समाजमा किशोरहरु लागू औषध प्रयोग गर्ने र बालबालिकाले सिक्ने क्रम बढेको भन्दै स्थानीय सरकार यस्ता कुरामा उदासिन भएको उनको आरोप थियो ।

कार्यक्रममा मेयर साहले छात्रछात्राहरूको प्रश्न तथा जिज्ञासा सुनिसके पछि जवाफ दिदै लागू औषधको प्रयोग व्यापक भएको स्वीकार गरे । उनले आफूले सकेको गरिरहेको दावी गर्दै समाजले समेत सोच बदल्नु पर्ने बताए । निर्वाचित भएको दुई वर्ष प्रशासकीय अधिकृत खोज्न सिंहदरवार धाउँदैमा आफ्नो दिन गएको उनको गुनासो थियो । बाँकी समयमा आफ्नो एजेण्डा अनुसार शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाई छ ।

‘‘लागू औषध, बालविवाह, लगायतको गैरकानुनी गतिविधिमा संलग्न जो कोहीलाई कारवाहीको लागि पहल गरिरहेका छौँ ।’’ मेयर साहले भने, ‘‘यसका लागि समाजका सबै तह तप्काको हातेमालो जरुरी छ । समस्यालाई सामाजिक संरचना र नागरिकको चेतना सँग जोडेर अबरोध गर्दा हामी पनि सशक्त हुन सकेका छैनौ ।’’ नगरपालिका बालबालिका सँगै रहेको मेयर साहले जिकिर गर्दै बालबालिकालाई सहयोग गर्न सधै तयार गरेको बताए ।

विभिन्न सङ्घ संस्था सँगको सहकार्यमा पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको मेयर साहका भनाई थियो । पालिका तथा वडामा बालमैत्री पुस्तकालय, कम्प्युटर सहितको कक्षाहरू सञ्चालन गर्न समेत बालबालिकाहरूले आग्रह गरे । नगरको शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि लगायतको योजना प्राथमिकताका साथ अगाडि बढाएको उहाँको भनाई थियो ।

यस पालिकाका छात्रछात्राहरू बागमती सेवा समाज र वल्ड भिजन इन्टरनेसनलको सहकार्यमा सञ्चालन भइरहेको बाल संरक्षणमा सामुदायिक संलग्नता परियोजनामा आवद्ध भएका छन । यहाँबाट सिकेको कुराले समाजमा हुने बालविवाह, दाइजोप्रथा, लगायतको विषयमा युवाहरूले आवाज उठाउने गरेको बताए । संस्थाले कार्यक्रम अन्तरगत स्थानीय स्तरमा रहेका बालबालिकाहरूलाई समेटेर सशक्त बाल क्लबहरू गठन गर्ने र त्यसलाई समाजिक कुरीति नियन्त्रणमा परिचालन गर्ने गरेको परियोजना संयोजक प्रमेश बादेले जानकारी दिए ।

स्थानीय सरकार सँगको सहकार्यमा यस परियोजना सञ्चालन गर्ने गरिएको उनको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles