लालबन्दी–नेकपा माओवादी केन्द्र निकट मगर राष्ट्रिय मुक्ति मोर्चा मधेश प्रदेश कमिटीको अध्यक्षमा धनुषाका गंगा बलम्पाकी मगर चयन भएका छन् ।
सोमबार सर्लाहीको लालबन्दीमा सम्पन्न मोर्चाको प्रदेश अधिवेशनबाट बलम्पाकीको अध्यक्षतामा ३५ सदस्य प्रदेश कमिटी गठन गरिएको हो । लालबन्दी नगरपालिका–५, स्थित निर्मल लामा स्मृति प्रतिष्ठानको भवनमा आयोजित अधिवेशनको उद्घाटन सत्र नेकपा (माओवादी केन्द्र) उपमहासचिव तथा पूर्व मन्त्री मातृका यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
अधिवेशनबाट मोर्चाको प्रदेश कमिटी उपाध्यक्षमा सर्लाहीका दुर्गा आले मगर, बाराकी लिला राना मगर र सिराहाका प्रकाश जर्घा मगर, सचिवमा महोत्तरीका दिल बहादुर किङरिङ मगर, सहसचिवमा रौतहटका दिल बहादुर आले मगर, कोषाध्यक्षमा सर्लाहीकी सुमित्रा लुङ्गेली मगर तथा अन्य सदस्यमा चयन भएका हुन । निर्वाचित पदाधिकारीहरूलाई प्रमुख अतिथि यादव लगायतले शुभकामना व्यक्त गरे ।
यस्तै अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले अब पार्टीका सबै जनवर्गीय मोर्चाहरूलाइ सशक्त बनाइने बताए । नेता यादवले जनवर्गीय सङ्गठन पार्टीको मेरुदण्ड भएकोले यसलाई ठिक ढङ्गले व्यवस्थापन, र परिचालनको विकल्प नरहेको उनले दावी गरे । पार्टीका कुनै पनि जनवर्गीय सङ्गठन कम्जोर हुन वा गलत लयमा जानुभनेको पार्टी बिग्रिनु रहेकोले यसलाई तल्लो तहबाटै सुधार गर्नुपर्नेमा उनको जोड थियो ।
आफ्ना हक, अधिकारको लागि फेरि लड्ने बेला आएको कार्यक्रमका अधिकांश वक्ताहरूको भनाइ थियो । जनयुद्धको हरेक लडाइमा मगर समुदायको भूमिका निकै प्रसंशनिय रहेको उनले बताए । “अभावमा मुसहर परिवारको त्याग र समर्पण हेर्नुस् ।’’ उनले भने, ‘‘सहिदको परिवारलाई सम्झने गर्नुस् ।” तिनै सहिदको रगत र पसिनाले सिँचिएको गणतन्त्र खतरामा रहेको भन्दै यसको रक्षाको लागि फेरी एकपटक जुर्मुराउने बेला आएको उनको स्मरण गराए ।
अधिवेशन निवर्तमान प्रदेश अध्यक्ष यम बहादुर खपाङ्गीको अध्यक्षतामा सम्पन्न भएको हो । मोर्चाका केन्द्रिय अध्यक्ष दीपक घर्ती मगर, माओवादी केन्द्रका सर्लाही जिल्ला इन्चार्ज अच्युतम प्रसाद काफ्ले, मोर्चाका केन्द्रिय उपाध्यक्ष टीका दर्लामी मगर, केन्द्रिय कोषाध्यक्ष अम्बिका खुलाल मगर, केन्द्रिय सहकोषाध्यक्ष होम सुनारी मगर, पूर्व बरिष्ठ उपाध्यक्ष कमल पिठाकोटे मगर, केन्द्रिय पूर्व सचिव लेखराम जर्गा मगर लगाएतको आतिथ्यता रहेको थियो ।
अधिवेशनको उद्घाटन सत्रमा मोर्चाका प्रदेश उपाध्यक्ष गंगा बलम्पाकी मगरले स्वागत गर्नूका साथै लेखराम जर्घा मगरले मोर्चाको बारेमा जानकारी राखेका कार्यक्रम संचालक प्रकाश जर्घा मगरले जानकारी दिए ।