मलङ्गवा-सर्लाहीको मलङ्गवा नगरपालिका स्थित खुटौनाबाट सर्लाही प्रहरीले श्रोत नखुलेको ३२ लाख बढी रुपैयाँ सहित एक भारतीयलाई पक्राउ गरेको छ ।
आइतबार सदरमुकाम मलङ्गवा नगरपालिका–६, खुटौनाबाट श्रोत नखुलेको ३२ लाख ३५ हजार ४ सय ४० नेपाली रुपैयाँ र दुई हजार एक सय ४० रुपैयाँ भारु सहित एक भारतीय युवक पक्राउ परेका हुन । पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला थाना कुनौली बस्ने अन्दाजी ४० वर्षका शम्भु कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
साह बिहान खुला सीमानाको बाटो हुँदै बिआर ०६ सिटी २४२२ नम्बरको मोटरसाइलकमा भारतबाट नेपाल तर्फ आँउदै गर्दा पक्राउ परेका थिए । ‘‘शंका लागेर मोटरसाइकल चेक जाँच गर्ने क्रममा साहको साथबाट ठुलो परिमाणमा रकम बरामद भएको हो ।’’ प्रनाउ राईले भने, ‘‘सोधखोज गर्दा उहाँले श्रोत बताउन नसके पछि अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।’’
उक्त पैसा अवैध हुन्डी कारोबारीको हुन सक्ने एक प्रहरी अधिकारीले आशङ्का व्यक्त गरे । पछिल्लो समय जिल्लाका खुला सिमा भएर अवैध कारोबार हुने गरेको पाइएको छ । बरामद रुपैयाँ, सवार मोटरसाइकल सहित साहलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

