राजु लो तामाङ, हरिपुर–सर्लाहीको हरिपुरमा जारी प्रथम मेयर कपमा वडा नम्बर ७ विजयी भएको छ ।
बुधबार सम्पन्न खेलमा वडा नम्बर ९ लाई ३–० गोल अन्तरले पराजित गर्दै हरिपुर नगरपालिका–७, विजयी भएको हो । प्रतियोगिता हरिपुर नगरपालिका–२, सानो जगतपुर खेल मैदानमा सञ्चालन भइरहेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरु देखिनै दवाव बनाएको वडा नम्बर ७ ले सहज जित निकालेको हो ।
प्रतियोगिताको म्यान अफ द म्याचको ट्रफी वडा नम्बर ९ का खेलाडी अनुकल्प चौधरीले प्राप्त गरे । हरिपुर नगरपालिकाका मेयर गोपाल पञ्जियारले ट्रफी प्रदान गरे । प्रतियोगिता अन्तरगत आजको अन्तिम क्वाटर फाइनल खेलमा वडा नम्बर ६ र वडा नम्बर ४ बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाइनल खेल बैशाख १५ गते सोमबार हुने छ । प्रतियोगिताको विजेताले नगद ७५ हजार र उपविजेता टोलीले ४० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक नव सङ्घर्षशील युवा क्लबले जनाएको हो ।