राजु तामाङ, हरिपुर–सर्लाहीको हरिपुर नगरपालिकामा सुरु भएको प्रथम मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक २ नम्बर वडा विजयी भएको छ ।
आइतबारबाट हरिपुर नगरपालिका–२, मा रहेको नव सङ्घर्षशील युवा क्लबको आयोजनामा प्रथम मेयर कप सुरु भएको हो । प्रतियोगितामा हरिपुर नगरपालिकाको आर्थिक सहयोग गरेको छ । सानो जगतपुर खेल मैदानमा नगर प्रमुख गोपाल पन्जियारले खेलको उद्घाटन गरे ।
उद्घाटन खेलमा आयोजक वडा नम्बर २ विजयी भएको छ । खेलको निर्धारित समय एक÷एक गोलको बराबरीमा सकिए पछि ट्राइ ब्रेकरमा धकेलिएको थियो । ट्राइ ब्रेकरमा पनि दुबै टिमबाट ४÷४ गोलको बराबरी भएपछि सडेन डेथमा आयोजक विजयी भएको आयोजक क्लबका अध्यक्ष अमृत घिसिङले जानकारी दिए । पहिलो खेलको म्यान अफ दि म्याच आयोजक क्लबका गोल रक्षक रोहन घिसिङ घोषित भए । उनले ट्रफी हात पारे ।
प्रतियोगिताको दोस्रो खेलमा भोलि वडा नम्बर ३ र वडा नम्बर ४ ले प्रतिस्पर्धा गर्ने भएका छन । प्रतियोगिताको विजेता टिमले नगद ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ४० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्ता प्रतियोगिताले स्थानीय स्तरमा रहेका खेलाडीहरूलाई प्रोत्साहन गर्ने नगरपालिकाको अपेक्षा छ ।