राजु तामाङ, हरिपुर–सर्लाहीको हरिपुरमा सम्पन्न प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि आयोजक वडा नम्बर २ ले जितेको छ ।
सोमबार हरिपुर नगरपालिका–२, सानो जगतपुर स्थित खेल मैदानमा सम्पन्न फाइनल खेलमा वडा नम्बर ७ लाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक वडाले उपाधि उचालेको हो । खेलको पहिलो हाफमा वडा नम्बर २ का प्रवेश बलले गरेको एक मात्र गोल निर्णायक बन्यो । जितसँगै वडा नम्बर २ ले नगद ७५ हजार रुपैयाँ पाएको छ ।
यस्तै उपविजेता बनेको वडा नम्बर ७ ले भने ४० हजार रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगितामा हरिपुर नगरपालिकाको ९ वटै वडा सहभागी भएका थिए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधि विजेता वडा नम्बर २ का रोहन घिसिङले प्राप्त गरेका छन् । भने, वेस्ट डिफेन्डर विकास माझी, ओमराज कुँवर वेस्ट मिडफिल्डर, मनोज कार्की वेस्ट कोच र उपविजेता वडा नम्बर ७ का गौरव चौधरी वेस्ट फरवार्ड घोषित भए । उनीहरूलाई ट्रफीसहित पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिताको विजेता तथा उपविजेता टिम र खेलाडीहरूलाई नगरप्रमुख गोपाल पन्जियारले पुरस्कार वितरण गरेका आयोजक क्लब नव सङ्घर्षशील युवा क्लबका अध्यक्ष अमृतकुमार घिसिङले बताए । प्रतियोगिताको समापन समारोहमा हरिपुर नगरपालिका–२, का वडाध्यक्ष निलविक्रम थापा, हरिपुर–७, का वडाध्यक्ष मनोजकुमार चौधरी, लालबन्दी–३, का वडाध्यक्ष बुद्धदेव चौधरीको आतिथ्यता रहेको थियो ।
यस्तै हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल, योजना शाखा प्रमुख रामदेव चौधरी, प्राविधिक शाखा प्रमुख विवेक यादव, नेकपा एमाले हरिपुर नगर कमिटीका अध्यक्ष माधव सरकार, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष सुनिल कुमार बुढाथोकी लगायतको सहभागिता रहेको आयोजकले जनाएको हो ।