चन्द्रनगर–सिराहाको औरही गाउँपालिका–५, मा महायज्ञको नाममा जातीय विभेद गरेको घटनाको अनुसन्धान हुँदै गर्दा सर्लाहीमा भने फरक दृश्य देखिएको छ ।
कथित तल्लो र उपल्लो जातको नाममा हुने छुवाछुत र विभेदको घटनाहरूलाई चुनौती दिदैँ जिल्लाको चन्द्रनगर गाउँपालिका–२, बबरगंजमा दलित र गैर दलित समुदायका अगुवाहरूको नेतृत्वमा नवाह महायज्ञ सञ्चालन भइरहेको हो । बबरगन्ज स्थित सवरी कुटी हनुमान मन्दिर परिसरमा मधेशका कथित दलित दाश र अन्य गैरदलित समुदायले सामूहिक रुपमा महायज्ञको आयोजना गरेको वडाध्यक्ष शम्भु साह तेलीले जानकारी दिनुभयो ।
विश्व कल्याणको कामना सहित चैत २० गतेबाट सुरु भएको नवाह महायज्ञमा कथित दलित गुरुदव्य रामचन्द्र दाश र बिसुनी दाशले कथा वाचन गरिरहनु भएको छ । नौ दिन सम्म संचालन हुने यस नवाह महायज्ञ चैत २९ गते विसर्जन गरिने आयोजक समिति संयोजक मनोज दाशले जानकारी दिनुभयो । कथा श्रवणको लागि दैनिक नजिकैका गाउँ गाउँबाट सबै समुदायका सयौँ स्थानीय सहभागी भइरहनु भएको उहाँको भनाई छ । दाशका अनुसार सहभागी सबैले एकै साथ बसेर कथा श्रवण गरिरहनु भएको छ ।
स्थानीय सबै सल्लाहमा मन्दिरमा महायज्ञ आयोजना गरेकोे आयोजक समिति सदस्य देवनारायण महतोले बताउनु भयो । भगवान र धर्मको नाममा कथित उचनीच भनेर भेदभाव गर्न नहुने उहाँको भनाई छ । ‘‘त यो जातको म यो जातको भनेर पुण्य हुन्छ त ?’’ उहाँले प्रश्न गर्नु भयो, ‘‘यो त अपमान भयो, भगवानको घरमा हामी सबै समान हौँ । कसैलाई उहाँले काखा र पाखा गर्नु हुन्न ।’’ आफ्नो समाजमा हरेक मठमन्दिर पूजाआजा सबै साझा रहेको अर्का सदस्य रुपलाल महतोको भनाई छ ।
मधेशमा जातीय हिसाबले कथित दलित भनेर हेपिएका दाश समुदायकै युवाहरूको अगुवाईमा सुरु भएको महायज्ञले समाजमा जातका पक्षपातीलाई गतिलो झापड हानेको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताउनु भयो । यस महायज्ञले समाजलाई एकताको सूत्रमा बाँध्ने काम गरेको भन्दै स्थानीयको अध्यक्ष महतोले खुलेर प्रशंसा गर्नु भयो । केही दिन पहिला मात्र महायज्ञ लगाउने नाममा सप्तरीमा दलित परिवारको उठिवास लगाएको घटना बाहिरिएको थियो ।
‘‘कथित दलित परिवारको घरले चर्चेको भागको माटो खनेर फालेको सम्म सुनेका हौ ।’’ उहाँले भन्नुभयो, ‘‘यहाँ कथित दलित र गैर दलित समुदायको आयोजनामा भएको नवाह महायज्ञमा दलित भनिएका दुई जना गुरुहरूले कथा वाचन गरिरहनु भएको छ । त्यतिमात्र हैन, स्थानीय सबै (कथित तल्लो र उपल्लो) समुदायका व्यक्तिहरू एउटै टेन्ट मुनी बसेर आनन्दले कथा सुनेर धार्मिक ज्ञान आर्जन गरिरहनु भएको छ । यो एउटा नमुना कार्य हो ।’’
धर्मले समाजलाई तोड्ने नभई जोड्ने काम गर्नु पर्ने उहाँको भनाई थियो । महायज्ञ स्थलमा भगवान विष्णुको ५२ अवतारको प्रतिमा समेत निर्माण गरिएको छ । स्थानीय मूर्तिकार तनकी दाशले उक्त मूर्ति निर्माण गर्नु भएको महायज्ञ आयोजक मूल समारोह संयोजक दाशले बताउनु भयो । गाउँका स्थानीय भद्रभलाद्मी सामाजिक व्यक्तिहरू समेतको सहभागितामा माना मुठी सहयोग आङ्कलन गरेर महायज्ञ आयोजना भइरहेको आयोजकको भनाई छ ।
महायज्ञमा दैनिक पाठ पारायण, भजन कीर्तन तथा झाकी प्रदर्शन समेत भइरहेको आयोजक समितिका सदस्य संजीप साहले बताउनु भयो । समितिमा गैर दलित समुदायबाट राम इकवाल महतो, परशुराम झा, वंशिलाल महतो र गौरी महतो समेत रहनु भएको छ । गत बुधबार बिहान आयोजना गरिएको कलश यात्रामा समेत कथित दलित तथा गैर दलित समुदायका स्थानीयको समेत ठुलो संख्यामा सहभागीता रहेको आयोजकको दावी छ ।