मलङ्गवा–चालु आर्थिक वर्षको हाल सम्म सर्लाहीमा ४१ जना औंलोका विमारी फेला परेका छन् ।
स्वास्थ्य कार्यालय सर्लाहीको तथ्यांक अनुसार यस आर्थिक वर्षको अहिले सम्म ४१ जना औंलोका विमारी फेला परिसकेका हुन । जिल्लाका विभिन्न पालिकामा गरी ४१ जनामा औंलो जाँच गर्दा सङ्क्रमण भएको पाइएको स्वास्थ्य कार्यालय सर्लाहीका भेक्टर कन्ट्रोल निरीक्षक मनोज कुमार झाले जानकारी दिए । यो सङ्ख्या गत वर्षको भन्दा धेरै हो ।
सर्लाहीमा गत आर्थिक वर्ष भरीमा ३५ जनामा औंलो सङ्क्रमित फेला परेका थिए । स्वास्थ्य कार्यालयका अनुसार यसरी सङ्क्रमित हुनेमा सबै जना भारतको विभिन्न स्थानमा मजदुरीका लागि गएर फर्किएका व्यक्तिहरू रहेका छन । जिल्लामा सबै भन्दा धेरै बलरा नगरपालिका वडा नम्बर–२, मा २१ जना सङ्क्रमित फेला परेका उनले बताए ।
फेला परेका बिमारीहरूको तत्काल परीक्षण पछि निशुल्क औषधी उपचार गर्ने गरिएको कार्यलयले जनाएको छ । ‘‘विमारी भेटिएका ठाउँका अन्य स्थानीयलाई समेत परीक्षण गर्ने गरेका छौँ ।’’ उनले भने, ‘‘तर आज सम्म सम्पर्कमा आएकाहरूमा संक्रमण फैलिएको छैन ।’’ स्वास्थ्यको वर्गीकरण अनुसार यहाँ फेला परेका सबै सङ्क्रमित आयातित हुन ।
मजदुरीका क्रममा मलेरिया सङ्क्रमित भएपछि काम गर्न नसक्ने भएर फर्कने गरेका उनको भनाई छ । जिल्लाका दक्षिणी क्षेत्रका गाउँमा बसोवास गर्ने विपन्न युवाहरू वर्षेनी ठुलो सङ्ख्यामा मजदुरीका लागि भारत पुग्ने गरेका छन । यसरी भारत पुगेकाहरु मलेरियाबाट पीडित भएर फकने गरेका बलरा नगरपालिका–२, का वडाध्यक्ष राम नारायण सहनीको भनाई छ ।
उनीहरु काम गर्ने स्थानमा सचेत नहुँदा सङ्क्रमित हुने गरेका वडाध्यक्ष सहनीको भनाई छ । मलेरिया सङ्क्रमित लामखुट्टेबाट अन्यमा सर्ने भएकाले सुत्ने बेलामा अल्छी नगरी झूलको प्रयोग गर्न, घर वरपर सफा राख्न, निरन्तर ज्वरो आए स्वास्थ्य संस्थामा गएर जाँच गर्न, बाहिर बस्दा शरीर पुरै ढाक्ने कपडा लगाउन चिकित्सकहरूको सुझाव छ ।

