मलङ्गवा– सर्लाहीमा क्रियाशील पत्रकारहरूलाई दुई दिने क्षमता अभिवृद्धि तालिम दिइएको छ ।
गैर सरकारी संस्था सुनौलो सिसौट नेपालको आयोजनामा मङ्गलबार र बुधबार दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हो । इनटरनेशनल अलर्टको आर्थिक सहयोगमा सम्पन्न तालिम नेपाल पत्रकार महासङ्घ सर्लाहीको समन्वयमा सञ्चालन भएको थियो । तालिममा जिल्लामा रहेर काम गरिरहेका २५ जना पत्रकारहरूलाई सहभागि गराइएको आयोजक सुनौलो सिसौट नेपालका अध्यक्ष अरुण प्रताप कुमार सिंहले जानकारी दिए ।
सहभागीहरूलाई प्रशिक्षक द्वय अजित तिवारी र दिवाकर उप्रेतीले विभिन्न विषयमा सहजीकरण गरेका थिए । समाचार सङ्कलन, मल्टि मिडियाको प्रयोग, प्रभाव, समाचार सङ्कलनको क्रममा अपनाउनु पर्ने सावधानी, भाषाको प्रयोग, सत्य र मिथ्या समाचारको पहिचान, पत्रकारको आचारसंहिता लगायतको विषयमा दुई दिन सम्म छलफल अन्तरकृया गरिएको सहभागी पत्रकार क्षितिज विश्वकर्माले बताए ।
तालिमले जिल्लामा काम गरिरहेका पत्रकारहरूलाई पेसागत तथा विषय गत जानकारी पुनर्ताजगीमा मद्दत पुगेको महासङ्घ जिल्ला अध्यक्ष ओम प्रकाश ठाकुरले जानकारी दिए । तालिमको मङ्गलबार हिजो जिल्ला समन्वय समिति सभापति कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थिए । लोकतन्त्र सुदृढीकरण : आवाज, नागरिक संलग्नता र जवाफदेहिता कार्यक्रम अन्तरगत तालिम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष सिंहको भनाई छ ।

