हरिवन–अभिभावक विहीन बालकको उपचारको लागि सहयोग गरिदिन सर्लाहीको हरिवन रहेको द्वन्द्वपीडित बालगृहले याचना गरेको छ ।
हरिवन नगरपालिका–५, घुर्कौली रहेको बालगृहमा आश्रय लिएर बसिर रहेका १७ वर्षीय बालक पासाङ जिम्बा लामा ‘शान्ति’ को उपचारका लागि सहयोग गरिदिन बालगृहले आग्रह गरेको हो । पासाङको फोक्सो लगायतका अङ्गमा गम्भिर समस्या देखिएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएको छ । वीर अस्पताल काठमाडौंमा राखिएको बालकको उपचारमा आर्थिक अभाव भएपछि आश्रम परिवारले बालकको जीवन रक्षाको लागि सहयोगको याचना गरेको हो ।
पासाङलाई केही समय पहिला डेँगु सङ्क्रमण भएको थियो । स्थानीयस्तरमै उपचारपछि ठीक हुनुभएको उहाँको स्वास्थ्यमा पुनः समस्या देखिएपछि चैत १५ गते काठमाडौँ पु¥याइएको हो । सुरुमा टेकु अस्पताल भर्ना गरिएको उहाँको फोक्सोमा पिप जमेको र अवस्था जटिल बन्दै गएको भन्दै चिकित्सकले वीर अस्पताल रिफर गरिदिएका आश्रममा अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो । बालकको फोक्सोमा पिप जमेर इन्फेक्सन भइसकेकाले चिकित्सकले तत्काल शल्यक्रिया गर्नुपर्ने भनेको उहाँको भनाइ छ ।
बालगृहले आश्रय दिएर राखेको अभिभावक विहीन पासाङको उपचारका लागि अहिलेसम्म दुई लाख बढी खर्च भइसकेको र थप शल्यक्रिया गर्न अस्पतालले सुरुमा डेढ लाख रुपियाँ जम्मा गर्न भनेपछि आफूहरू समस्यामा परेको उहाँले बताउनु भयो । विभिन्न दाताहरूको सहयोगमा सञ्चालन भइरहेको बालगृह आर्थिक रुपमा कम्जोर रहेकाले समस्या भएको उहाँले सुनाउनु भयो ।
“अस्पतालले भनेको डेढ लाख रकम जम्मा गर्न नसक्दा अप्रेसन मिति पछाडि सार्नुपर्ने अवस्था आयो,” लामाले भन्नु भयो,“हामी अहिले तत्काल अस्पतालमा जम्मा गर्नुपर्ने डेढ लाख रुपियाँ कसरी जुटाउने भन्ने तनावमा छौँ । हामीलाई निरन्तर सहयोग गरेर हौसला दिनुहुने सहयोगी दाताहरूलाई बालकको जीवन रक्षाको लागि एक पटक फेरी अनुरोध गर्दछु ।”
पैसा अभाव भएपछि चिकित्सकले दिएको शल्यक्रिया समय केही ढिला गरिदिन आग्रह गरेको उहाँले सुनाउनु भयो । सहयोगी समुह जो कोहीले पासाङको शल्यक्रियाका लागि आवश्यक पर्ने रकम सहयोग गर्न चाहे बालगृहका अध्यक्ष लामालाई ९८५४०३७३१० मा सम्पर्क गर्न सक्नुहुनेछ ।
बालकको उपचारमा समन्वय गरिरहनु भएका स्वास्थ्यकर्मी पाण्डवराज बरालले फोक्सोमा पिप जमेर इन्फेक्सन भएका पासाङको मुटु तथा फोक्सोको विशेषज्ञ चिकित्सकबाट शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । पासाङलाई पाइपबाट फोक्सोमा जमेको पिप निकाल्दा समेत समस्या यथावत रहेपछि शल्यक्रिया गर्नुपर्ने भएकोले टेकुबाट वीरमा सारिएको बरालको भनाई छ ।

