लालबन्दी– नेपाल हृदयरोग निवारण प्रतिष्ठान सर्लाही शाखाले लालबन्दी नगर अस्पताललाई एक थान ई.सि.जि. मेसिन हस्तान्तरण गरेको छ ।
आइतबार प्रतिष्ठानले अस्पताल सभाहलमा एक औपचारिक कार्यक्रम आयोजना गरी मेसिन हस्तान्तरण गरेको हो । प्रतिष्ठान सर्लाही शाखाका सभापति शिव प्रसाद न्यौपानेको अध्यक्षतामा मेसिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको उपाध्यक्ष बिक्रम भण्डारीले जानकारी दिए ।
कार्यक्रममा लालबन्दी नगरपालिका–९, का वडाध्यक्ष नारायण अधिकारी, अन्य जनप्रतिनिधि, लालबन्दी नगर अस्पतालका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीहरू, प्रतिष्ठानका केन्द्रीय सदस्य लगायतको सहभागिता रहको कार्यक्रम सञ्चालक समेत रहेका प्रतिष्ठान उपाध्यक्ष भण्डारीले जानकारी दिए ।
अस्पतालको लागि अति आवश्यक उपकरण सहयोग गरेको भन्दै नगर अस्पताल प्रशासनले प्रतिष्ठान शाखा परिवारलाई धन्यवाद ज्ञापन गरेको छ ।

