बागमती– ११५ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बागमतीमा अन्तरकृया र सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।
हरेक वर्ष मार्च ८ का दिन विश्वव्यापी रुपमा नारी दिवस मनाउने गरिएको छ । सोही अवसरमा आइतबार औपचारिक कार्यक्रम आयोजना गरी विभिन्न विधामा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको बागमती नगरपालिका महिला तथा बालबालिका शाखाले जनाएको हो ।
सम्मानित हुनेहरूमा महिला अधिकारका क्षेत्रमा सक्रिय अधिकारकर्मी, विभिन्न पेसाकर्मी सहिद परिवारका महिलाहरू गरी १५ जना रहेका शाखा प्रमुख सास्था ढुङ्गेलले जानकारी दिइन् । बागमती नगरपालिकाका कार्यवाहक मेयर कृष्ण लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नगर भित्र ‘‘जिइएसआई पोलिसी’’ कार्यपालिकाबाट अनुमोदन गरी कार्यान्वयन गर्न, सबैले घरमा घरायसी काम बाढेर गर्ने, ‘‘टिम हन्ड्रेड फर चेन्ज” समुह गठन गरी परिचालन गर्ने लगायतको निर्णय गरेको नगरपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको हो ।
‘‘सबै महिला तथा बालबालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’’ भन्ने मूलनारा सहित आयोजित अन्तरकृयाका वक्ताहरूले महिला आन्दोलनको इतिहास, उपलब्धि र आगामी कार्य दिशाको विषयमा कुरा राखेका थिए । अन्तरकृया पछि दुई बुँदे घोषणा पत्र समेत सार्वजनिक गरिएको छ ।
कार्यक्रममा नारी दिवसको अवसरमा अनलाइन खवरले सार्वजनिक गरेको देशै भरीका प्रभावशाली ५० जना महिलाहरूको सुचीमा पर्न सफल पवित्रा माझी, रमा पौडेल, महिला नेतृ रिता मैनाली लगायत एक सय ७० जना भन्दा धेरैको सङ्ख्यामा महिलाहरूको सहभागिता रहेको थियो ।