हरिवन–सर्लाहीको हरिवनमा विशेषज्ञ चिकित्सक सहितको शिविरबाट तीन सय ३८ जना लाभान्वित भएका छन् ।
हरिवन नगरपालिका–८, स्थित स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सक सहित दुई दिने शिविर आयोजना भएको हो । शिविरमा ३ सय ३८ जनाले स्वास्थ्य जाँच गराएका नगर स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले जानकारी दिए । शिविरमा २ सय ३६ महिला र एक सय २ जना पुरुषले सेवा लिएका स्वास्थ्य चौकी हरिवनले जनाएको हो ।
इमर्जेन्सी मेडिसिन, जनरल मेडिसिन, युरोलोजी, नशा तथा हाड जोर्नी, स्त्री तथा प्रसुती, नाक कान घाटी, छाला, एक्सरे र भिडियो एक्सरे सेवा समेत शिविरमा उपलब्ध गराइएको थियो । मृगौला र दन्त सम्बन्धी विशेषज्ञ चिकित्सकले समेत शिविरमा स्वास्थ्य सेवा प्रदान गरेका संयोजक चौधरीले बताए ।
यस नगरपालिकाले नागरिकमा सहज स्वास्थ्य सेवा पुर्याउने उद्देश्य सहित नियमित शिविरहरू आयोजना गर्दै आएको नगरका मेयर रमेश बुढाथोकी(कमल)ले बताए ।