Wednesday, May 21, 2025

स्ववियु निर्वाचनः सर्लाही क्याम्पसमा ४२ प्रतिशत मात्र मत खस्यो

ताजा / भरखरै प्राप्त

सर्लाही- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत सर्लाही बहुमुखी क्याम्पसमा ४२.०८ प्रतिशत मात्र मत खसेको छ ।

जिल्लामै धेरै मतदाता रहेको मलङ्गवा स्थित सर्लाही बहुमुखी क्याम्पसमा एक हजार तीन सय ६७ जनाले मात्र मत खसालेका हुन । यस क्याम्पसमा तीन हजार दुई सय ४९ मतदाता रहेका थिए । बिहान ८ बजेबाट सुरु भएको मतदान साँझ ४ बजे सम्पन्न गरिएको निर्वाचन अधिकृत कृपानाथ झाले जानकारी दिए ।

आजै जलेश्वरमा परीक्षा परेको र चाडवाड लगतै चुनाव परेकोले माइत तथा घर पुगेका महिला मतदाता फर्कन नभ्याएका कारण कम मत खसेको उनको भनाई थियो ।

यस्तै सर्लाहीको हरिवनमा रहेको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सुकेपोखरीमा ८०.५० प्रतिशत मत खसेको छ । निर्धारित समय अवधिमा ६ सय ६७ जनाले मतदान गरेका निर्वाचन अधिकृत डाक्टर हरिलाल मैनालीले जानकारी दिए । यस क्याम्पसमा ८ सय २८ मतदाता रहेका थिए ।

यसैबीच लालबन्दीमा रहेको जनज्योति बहुमुखी क्याम्पसमा दोस्रो धेरै ६८.९१ प्रतिशत मत खसेको छ । एक हजार ८४ जना मतदाता रहेका यस क्याम्पसमा ७ सय ४७ जनाले मत दान गरेका निर्वाचन अधिकृत शिवहरी नेपालले बताए । केही विद्यार्थी बाहिर रहेका बाहेक सबैले मतदान गरेका उनको भनाई छ ।

तीन वटै क्याम्पसमा दिनभरी शान्तिपूर्ण रुपमा मतदान भएको थियो । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त मलङ्गवाको सर्लाही बहुमुखी क्याम्पस, हरिवनमा रहेको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस र लालबन्दीमा रहेको जनज्योति बहुमुखी क्याम्पसमा आज मतदान भएको हो ।

यसै वर्षबाट स्ववियु निर्वाचनको अनुमति पाएको बागमती नगरपालिका–११, कर्मैयामा रहेको आदर्श जनता बहुमुखी क्याम्पसमा नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी निर्विरोध भइसकेको छ ।

तीन वटै क्याम्पसमा अहिले सर्वपक्षीय छलफल गरेर मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles