Sunday, March 16, 2025

सर्लाहीको मलङ्गवामा प्रथम बज्जिका महोत्सव २०८१ सम्पन्न

ताजा / भरखरै प्राप्त

मलङ्गवा–सर्लाहीको मलङ्गवा नगरपालिकामा प्रथम बज्जिका महोत्सव २०८१ सम्पन्न गरिएको छ ।

शनिबार मलङ्गवा नगरपालिकाको ३८ औँ स्थापना दिवसको अवसरमा बज्जिका भाषा संरक्षणको उद्देश्य सहित महोत्सव आयोजना गरिएको हो । मधेश प्रदेशमा धेरै बोलिने भाषाको तेस्रो नम्बरमा रहेको बज्जिका भाषाको संरक्षणको लागि महोत्सव कोशेढुङगा सावित हुने आयोजक मलङ्गवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवले बताए ।

बज्जिका भाषा महोत्सवको अवसरमा भाषा संरक्षणमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको आयोजकले जनाएको हो । मलङ्गवा नगरपालिकाको आयोजनामा सम्पन्न महोत्सव कार्यक्रम बज्जिका साहित्य समाज सर्लाहीको सहकार्यमा आयोजना गरिएको मेयर यादवकाे भनाइ छ। महोत्सवमा सर्जकहरूले सृजना गर्नु भएको बज्जिका भाषाका कविता, गजल लगायत साहित्य सृजनाहरू प्रस्तुत गरेका थिए ।

प्रथम बज्जिका महोत्सवका कार्यक्रमका लागी नेपाल तथा भारतका विभिन्न स्थानबाट सर्जकहरू आइपुगेका थिए । कार्यक्रममा बज्जिका भाषा संरक्षणमा योगदान पुर्याउने सञ्चारकर्मी, साहित्यकार लगायतलाई सम्मान समेत गरिएको बज्जिका भाषा साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहाकाे भनाइ छ । नेपालको जनगणना २०७८ को तथ्यांक अनुसार मधेश प्रदेशमा कुल पाँच लाख ६१ हजार २ सय ५२ जनाले व्यक्तिहरुले बज्जिका भाषा प्रयोग गर्ने गरेको उल्लेख गरिएको छ ।

महोत्सवको अवसरमा बज्जिका भाषा संरक्षणमा योगदान पुर्याएको भन्दै मलङ्गवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादव, सर्लाही क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य एवं पूर्व अर्थ मन्त्री सञ्जय कुमार यादव, सञ्चारकर्मीहरू राजिव साह, कृष्ण सिंह, मनोज यादव, राजु श्रीवास्तवलाई समेत प्रशंसापत्र सहित सम्मान गरिएको आयोजकले जनाएको हो । बज्जिका भाषा साहित्य संरक्षणमा उहाँहरूको उल्लेख्य योगदान रहेको कार्यक्रम संयोजक समेत रहेका कुशवाहाले बताए ।

कार्यक्रममा भारतबाट आएका कवि मणि भुषण सिंह अकेला, अबधेश प्रदित, डा. भिबालक राय (प्रभाकर), डाक्टर सञ्जय विजित्वर, राम किशोर सिंह र नेपालका राम विश्वास महतो, विमलेश कुमार, संजय साह(मित्र), अजय कुश्वाहलाई समेत सम्मान गरिएको बज्जिका साहित्य समाजका मुकेश मिश्रले जानकारी दिए । सोही कार्यक्रमका बिच सञ्जय साह(मित्र), विश्वराज अधिकारी, राम विश्वास राय, सिद्धान्त कुमार चौधरी, रेणु गुप्ता रामचन्द्र महतो, किशुनदयाल श्रीकृष्ण र सञ्जय सुदामाले सम्युक्त रुपमा लेख्नु भएको बज्जिका लघुकथा समेत विमोचन गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles