कविलासी–सर्लाहीको कविलासीमा दुई मोटरसाईकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।
शुक्रबार नवलपुर–मलङ्गवा सडक खण्ड अन्तरगत कविलासी नगरपालिका–१०, सलेमपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेको भारतीय बिआर ३० एएच ७६३० नम्बरको मोटरसाइकलमा सवार चक्रघट्ट गाउँपालिका–८, औरही बस्ने अन्दाजी ५० वर्षका बिनोद राउतको उपचारको क्रममा आज मृत्यु भएको हो ।
टाउको, नाक, चिउडो, हात र खुट्टामा चोट लागेर गम्भिर घाइते भएका राउतको प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि वीरगन्ज रिफर गरिएको थियो । उनको उपचारको क्रममा न्युरो अस्पताल बिरगंजमा ज्यान गएको परिवारलाई उद्धत गर्दै जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । राउत सवार मोटरसाइकल चालक चक्रघटट् गाउपालिका–८ औरही निवासी ४० वर्षका ओम शंकर साहको पनि वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा संलग्न अर्को बिआर ३० एएल ८२७८ नम्बरको भारतीय मोटरसाइकलका चालक गोडैता नगरपालिका–७, जानकी टोल निवासी अन्दाजी २० वर्षका राम सिंहासन राउत र मोटरसाइकलमा सवार सोही स्थानका २० वर्षका गुल्सन महतो अनुहार, हात, खुट्टा तथा शरीरका विभिन्न भागमा चोटलागेको अवस्थामा प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हो ।
दुर्घटनामा परेका दुवै मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।