Sunday, March 16, 2025

मानवसेवा आश्रम भवन निर्माणको लागि आयोजित महायज्ञ उद्‌घाटन

ताजा / भरखरै प्राप्त

हरिवन–मानवसेवा आश्रमले हरिवनमा आयोजना गरेको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ उद्घाटन गरिएको छ ।

बिहीबार एक कार्यक्रमका बीच हरिवन नगरपालिका–११, सुर्ति विकास खेल मैदानमा आयोजित महायज्ञको उद्‌घाटन गरिएको हो । मानवसेवा आश्रमले सर्लाही शाखाको भवन (मानवीय स्मारक) निर्माण गर्ने उद्देश्य सहित श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ सुरु गरेको हो । सहयोगापेक्षी सडक आश्रित व्यक्तिहरूको व्यवस्थापन गर्ने उद्देश्यले आयोजित महायज्ञको मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशाहाले उद्घाटन गर्नु भएको हो ।

आजदेखि सुरु भएको  महायज्ञ  फागुन २९ गते सम्म सञ्चालन हुने यज्ञ मूल आयोजक समिति अध्यक्ष माधव थापाले बताउनु भयो । महायज्ञ समुद्घाटन पूर्व बिहान ११ बजे सुखेपोखरी स्थित चतुर्भुजेश्वर शिव मन्दिरबाट कलश यात्रा गरिएको थियो । महायज्ञ समुद्घाटनको अवसरमा हरिवन नगरपालिकाले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगरपालिका घोषणा समेत गरेको छ ।

यो सँगै नगरपालिका भित्र कसैले पनि असहाय, बेसहारा भइ सडकमा पुगेर बाँच्ने अवस्थाको अन्त्य गरिने नगरप्रमुख रमेश बुढाथोकीले बताउनुभयो । उहाँले सर्लाही शाखाको भवन निर्माणका लागि नगरपालिकाको तर्फबाट ५६ लाख २१ हजार रुपैयाँ सहयोग गरिएको समेत जानकारी दिनुभयो । महायज्ञमा इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलको टिम पनि सहभागी भएका छन् ।

आश्रम भवन निर्माणका लागि इन्देणी टिमले समेत ५१ हजार बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । भागवत भास्कर कमलनयन गौतमले कथा वाचन गर्नुहुने महायज्ञमा प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजे सम्म योग शिविर, साँढे ७ बजेदेखि १० बजेसम्म विद्यार्थीमाझ उत्प्रेरणा कार्यक्रम समेत सञ्चालन हुनेछन् । मानवसेवा आश्रमको हरिवन–९ स्थित निर्माणाधीन भवन निर्माण सम्पन्न गर्नका लागि  महायज्ञबाट  ११ करोड  दान सङ्कलन लक्ष्य राखिएको मूल आयोजक समितिले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles