हरिवन– सर्लाहीको हरिवनमा श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञबाट आर्थिक संकलन गरेर मानवसेवा आश्रमको भवन निर्माण गरिने भएको छ ।
शनिबार हरिवन नगरपालिका–११, स्थित नेपाल उखु किसान महासङ्घको सभाहलमा आयोजित पत्रकार सम्मेलन मार्फत महायज्ञ आयोजनाबारे जानकारी दिइएको हो । मानवसेवा आश्रमको सर्लाहीमा रहेको मधेश प्रदेश स्तरीय शाखा कार्यालय भवन निर्माणको उद्देश्य सहित ज्ञानविज्ञान महायज्ञ आयोजना गर्न लागेको मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताए।
हरिवन–११, मा रहेको सुर्ती विकास खेल मैदानमा फागुन २२ गतेबाट २९ गते सम्म महायज्ञ आयोजना हुने मूल समारोह समिति अध्यक्ष माधव थापाकाे भनाइ छ । हरिवन नगरपालिका–९, मा रहेको जग्गामा केही समय पहिला नै आश्रम भवनको शिलान्यास भएको थियो । तर, आर्थिक अभावमा रोकिएको निर्माण कार्य सुचारु गराउन महायज्ञबाट मद्धत प्राप्त हुने आश्रम परिवारको अपेक्षा छ ।
मानवसेवा जस्तो पुनीत कार्यमा सहभागी भइदिन समेत आयोजक समितिको आग्रह छ । उक्त भवन निर्माणको लागि अनुमानित ११ करोड लगानी आवश्यक रहेको संस्था अध्यक्ष अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए। यस आश्रमले अन्य शाखाका भौतिक संरचना निर्माणमा पनि महायज्ञबाट दान सहयोग सङ्कलन गर्ने गरेको सुनाउनु हुँदै यहाँ पनि सबैको साथ पाइने विश्वास अध्यक्ष अधिकारीले व्यक्त गरे ।
मानवसेवा आश्रम सर्लाही शाखाको आफ्नै भवन नहुँदा अहिले हरिवन नगरपालिका–१, कैलाशपुरी स्थित जेष्ठनागरिक भवनमा सञ्चालन भइरहेको छ । उक्त भवनमा एक सय ६१ जना सहयोगापेक्षी सडक मानवहरू आश्रित छ । त्यस मध्य ६० जना सर्लाहीका व्यक्तिहरु रहेका भएका आश्रम प्रशासनले जनाएको हो । हाल सम्म सर्लाहीबाट २ सय ९९ जना सडक मानवहरूको उद्धार गरिएको त्यस मध्य दुई सय २९ जनालाई पारिवारिक पुनर्मिलन गराइएको मानवसेवा आश्रमले जनाएको छ ।
२१ जनाले आश्रममै देह त्याग गरेका छन् । मधेश प्रदेशबाट हाल सम्म ७ सय ५१ जना सडक मानवहरूको उद्धार गरिएको र त्यस मध्य ४ सय एक जनाको पारिवारिक पुनर्मिलन गराइएको आश्रमका अध्यक्ष अधिकारीले बताए । उद्धार गरिएका मध्य प्रदेश भरीमा ६८ जनाले देह त्याग गरेका छन् । तत्कालीन अवस्थामा दिगो व्यवस्थापनको अवस्था नहुँदा स्थानीय सङ्घ संस्था र दाताहरूको सहयोगमा आश्रित व्यक्तिहरूको खाना, नाना र छानाको प्रबन्ध गरिएको आश्रमका केन्द्रिय अध्यक्ष अधिकारीकाे भनाइ छ ।
महायज्ञमा हरेक खालका दान र सहयोग स्वीकार गरिने भन्दै सङ्कलन भएको नगद वा जिन्सीबाट निर्माणाधीन भवनको काम र खाद्यानन्न आश्रममा रहेका लक्ष्मी नारायणहरुको दैनिक खानाको लागि प्रयोग गरिने आयोजकको प्रतिवद्धता छ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहको उपस्थितिमा महायज्ञ उद्घाटनको तयारी गरिएको अध्यक्ष अधिकारीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । एक साता सम्म सञ्चालन हुने ज्ञान महायज्ञमा हजारौँ भक्तजनहरू उपस्थित हुने आयोजकको भनाई हो ।
भागवत भाष्कर कमलनयन गौतम प्रमुख बाचक रहने महायज्ञमा फागुन २२ गते कलश यात्रा र पूर्वाङ्ग, २८ गते लक्ष्यवति दीप प्रज्वलन, फागुन २९ गते समापन कार्यक्रम तय गरिएको मूल समारोह समिति अध्यक्ष थापाले बताए । महायज्ञमा कथा वाचन, पूजापाठ सँगै दैनिक योग शिविर र विद्यार्थी उत्प्रेरणात्मक कार्यक्रम समेत सञ्चालन गरिने छ । हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, उपमेयर हरिमाया घलान लगायतले पत्रकार सम्मेलनमै उपस्थित भएर महायज्ञमा सकेकाे सहयाेग गर्ने प्रतिवद्धता सहित सहयाेग गर्न अनुराेध समेत गरे ।