बागमती–सर्लाहीको बागमती नगरपालिकामा रहेको एक विद्यालयले सहयोगी दाताहरूलाई सम्मान गरेको छ ।
शुक्रबार बागमती नगरपालिका–१२, बथनियामा रहेको श्री जन जागृति आधारभूत विद्यालयले दाताहरूलाई सम्मान गरेको हो । विद्यालयलाई नगद तथा जिन्सी सहयोग पुर्याउने सहयोगी १७ जना दाताहरूलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक हेरम्भराज सुवेदीले जानकारी दिए । बागमती नगरपालिकाका कार्यवाहक मेयर कृष्ण कुमार लामाको प्रमुख आतिथ्यतामा दाता सम्मान कार्यक्रम सम्पन्न गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा सम्मानित हुनेहरूमा बागमती नगरपालिका–१२, निवासी सोम बराल, भक्तराज गदाल, कमल गदाईली, कमल गौतम, मन्दिप रानाभाट, रुद्र गदाल, जयराम गदाल, प्रकाश केसी, आकाश गजमेर, बागमती–२ निवासी रामु राउत, ईश्वरपुर–४, निवासी जुनू माझी, काठमाडौँबाट प्रगति श्रेष्ठ, अष्ट्रेलिया निवासी दीपा चौलागाईँ र बेलायत निवासी स्टेफनी पत्तंगल रहेका थिए । उहाँहरूलाई प्रशंसा पत्र सहित दोसल्लाले सम्मान गरिएको हो ।
अत्यन्त दयनीय अवस्थामा रहेको यस विद्यालयको शैक्षिक सुधारको लागि दाता सहयोग सङ्कलन अभियान संचालन गरिएको थियो । अभियानबाट तीन लाख एक हजार ४ सय ३५ रुपैयाँ नगद सङ्कलन भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पवित्रा माझीको भनाई छ । देश तथा विदेशमा रहेर अभियानमा सहभागी हुने दाताहरुलाई विद्यालयले औपचारिक कार्यक्रम गरी सम्मान गरेको हो ।
सामुदायिक विद्यालयमा सामुदायिक लगानीको नारा सहित सुरु गरिएको अभियान अन्तरगत एक थान सिलिङ फ्यान, एक थान वाल फ्यान, ३६ थान न्यानो ज्याकेट, २५ जोर जुत्ता, न्यानो कपडा, एक टिप बालुवा, एक टिप मिक्स ग्राभेल, दुई जना मजदुर र रंगरोगन सहयोग समेत प्राप्त भएको थियो । प्राप्त नगद तथा जिन्सी सहयोगबाट विद्यालय प्राङ्गणमा रहेको शौचालयको पुनः निर्माण, कक्षा कोठा रङ्गरोगन, बाल कक्षाको लागि ६ वटा टेवल, फ्यान जडान, बाल कक्षाको लागि भ्याकुम खरीद गरिएको विद्यालयले जनाएको छ ।
यस्तै महिला साक्षरता कक्षा सञ्चालन, कम्प्युटर फर्निचर निर्माण, सम्पूर्ण विद्यार्थीहरूको लागि पोषण परिक्षण र पोषण क्लब गठन, साप्ताहिक आइरन चक्की खुवाउने कार्यक्रम सञ्चालन र निरन्तरता, अभिभावक परामर्श र सचेतना कार्यक्रम सञ्चालन, कक्षा ५ का लागि गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन गरिएको अध्यक्ष माझीको भनाई छ । विद्यालयले आगामी वर्ष पनि विद्यालय सुधार कार्यक्रमका लागि सहयोग सङ्कलन कार्यक्रम गरी नयाँ भवन, बाल कक्षाको लागि स्मार्ट बोड, पर्याप्त खेल सामाग्री, थप शिक्षक र विज्ञान कार्यक्रम सञ्चालन गरिने योजना रहेको उनको भनाई छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष माझीको अध्यक्षतामा सम्पन्न दाता सम्मान कार्यक्रममा बागमती–१२, का अध्यक्ष ओम बहादुर श्रेष्ठ, स्थानीय बुद्धिजीवी गोबर्धन गदाल, सन्त बहादुर लामा, दीपक रानाभाट लगायतको आतिथ्यता रहेको थियो ।