बागमती–धार्मिक पर्यटन प्रवर्धनको उद्देश्य सहित सर्लाहीको बागमतीमा बौद्ध स्तूपा शिलान्यास गरिएको छ ।
मङ्गलबार बागमती नगरपालिका–४, नयाँ बस्ती स्थित सांगेछोईलिङग गुम्बाको प्राङ्गणमा बौद्ध स्तूपाको शिलान्यास गरिएको हो । बौद्ध धर्म गुरु थेक्छोक रिम्पोछेले मन्त्र वाचन गरी स्तूपा शिलान्यास गर्नु भएको उक्त वडाका कार्यवाहक वडाध्यक्ष अर्धमान सिङतानले जानकारी दिए ।
८९ लाख १५ हजार एक सय ६ रुपैयाँ १८ पैसा लागतमा निर्माण सम्पन्न गरिने यस स्तूपा परिसरमा अन्य विभिन्न संरचनाहरु समेत निर्माण गरिने छ । २०८२ साल अषाढ २० गते भित्र निर्माण सम्पन्न गर्ने गरी बुद्ध त्रिरत्न निर्माण सेवाले स्तूपा निर्माण ठेक्का सकारेको सांगेछोईलिङ गुम्बा व्यवस्थापन समितिले जनाएको हो ।
स्तूपा शिलान्यास कार्यक्रममा मधेश प्रदेश सभा सांसद जवाहरलाल कुशवाहा, महिला नेत्री लिला कुमारी मोक्तान, कार्यवाहक नगर प्रमुख कृष्ण लामा, बागमती–१, का वडाध्यक्ष गम्बिर सिङ पाख्रिन, बागमती–४, का कार्यवाह वडाध्यक्ष सिङतान, वडासदस्य राम सुन्दर महतो, नेपाल तामाङ घेदुङ बागमती नगर अध्यक्ष रोशन लामा लगायतको आतिथ्यता रहेको थियो ।
स्तूपा निर्माण पछि यस क्षेत्रमा धार्मिक पर्यटन प्रवर्धन हुने अपेक्षा गरिएको छ । अहिले पनि यहाँ बुद्धको प्रतिमा निर्माण गरिएको छ । शिलान्यास कार्यक्रममा निर्माण हुन लागेको स्तुुपाको गुरु योजना समेत प्रस्तुत गरिएको थियो । सोही अवसरमा सांगेछोईलिङ गुम्बा परिसरमा बौद्ध धर्म प्रवचन तथा वाङ अभिशेक कार्यक्रम समेत सम्पन्न भएको छ ।