बागमती–प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सर्लाहीको बागमतीमा कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उपयोगी तालिम सुरु भएको छ ।
बिहीबार बागमती नगरपालिका–१२, स्थित भरत ताल परिसरमा रहेको सभा हलमा तालिमको औपचारिक उद्घाटन गरिएको हो । नेपाल चौतारी टेक्निकल इन्स्टिच्युट जनकपुरको प्राविधिक सहयोगमा सुरु भएको तालिमको बागमती नगरपालिकाका कार्यवाहक मेयर कृष्ण लामाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको नगरकी रोजगार संयोजक निलम कुशवाहाले जानकारी दिइन ।
५० दिन सम्म सञ्चालन हुने तालिममा ४० दिन मेसन र १० दिन जीवन उपयोगी तालिम प्रदान गरिने छ । तालिममा बागमती नगरपालिका–१, ४, ११ र १२ का गरी ४० जनाको सहभागी रहेको रोजगार शाखाले जनाएको हो । यस किसिमको तालिमले सीप र क्षमताको अभावमा बेरोजगार हुनुपरेको अवस्थालाई कम गर्दै लैजाने भएकोले निकै उपयोगी हुने कार्यक्रमका वक्ताहरूकाे भनाई थियो ।
कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रतीत भण्डारी, बागमती नगरपालिका–३, का वडाध्यक्ष तिलक मोक्तान, वडा सदस्य रुपा बोम्जन, इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी वरिष्ठ सहायक निरीक्षक सुवास यादव, हरि खड्का लगायतको आतिथ्यता रहेको रोजगार शाखा सहायक सन्तोष गदालले जानकारी दिए ।