बागमती–सर्लाहीको बागमतीमा उर्जा ध्यान योग शिविर सुरु भएको छ ।
सोमबार बागमती नगरपालिका–१२, स्थित लक्ष्मी नारायण मन्दिर सभाहलमा शिविरको उद्घाटन गरिएको हो । लक्ष्मी नारायण मन्दिर धर्मशाला व्यवस्थापन समितिको आयोजनामा सुरु भएको उर्जा ध्यान योग शिविर एक साता सञ्चालन गरिने भएको छ । त्यस पछि नियमित ध्यान योग सञ्चालन गर्ने लक्ष्य रहेको व्यवस्थापन समितिका अध्यक्ष सत्यलाल साहले जानकारी दिए ।
जीवन विज्ञान प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा तथा सहकार्यमा सुरु भएको शिविरमा प्रतिष्ठानका योग गुरुहरुबाट साधना सिकाइने कार्यक्रमका अध्यक्ष रामजी विमलीले जानकारी दिए । सुख, शान्ति र समृद्धिको मूलनारा सहित सुरु भएको निशुल्क शिविरमा उपस्थित भइ ज्ञान तथा आरोग्य प्राप्तिको लागि समेत आयोजकले आग्रह गरेको छ ।
जीवन विज्ञान प्रतिष्ठानकी प्रतिनिधि विद्या नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा उद्घाटन समारोहमा बागमती नगरपालिका–१२, का वडाध्यक्ष ओम बहादुर श्रेष्ठ, वडा सदस्य जितेन्द्र दाश, रेवती पन्त, विभा नेपाल, शिव कुमार साह, बाबुराम कर्मचार्य, सन्देश श्रेष्ठ, लगायतको सहभागिता रहको कार्यक्रम सञ्चालक जय गोलेले जानकारी दिए ।
प्रतिष्ठानका कृष्ण दहाल र नरेन्द्र साह सात दिन सम्म शिविरमा योग गुरुको रुपमा रहने छन । योग शिविर विहान ५ बजेदेखी ६ः३० बजे सम्म संचालन हुने छ ।