हरिवन–सर्लाहीको हरिवनमा आयोजना गर्न लागेको तेस्रो डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनीको तयारी पुरा भएको छ ।
‘‘मधेश प्रदेशको शान, दुग्ध र कृषि क्षेत्र, हामी सबैको पहिचान’’ भन्ने मूलनारा सहित बुधबारबाट हरिवन नगरपालिका–११, स्थित सुर्ती विकास मैदानमा प्रदर्शनी सुरुहुन लागेको हो । हरिवन नगरपालिका र प्रदेश दुग्ध विकास बोर्ड मधेश प्रदेशको संयुक्त आयोजनामा हुनलागेको प्रदेश स्तरीय प्रदर्शनीको तयारी पुरा गरेको आयोजकले जनाएको छ ।
प्रदर्शनी चैत १६ गते सम्म चार दिन सम्म सञ्चालन हुने नगरपालिकाका प्रवक्ता हरिवन–१०, का वडाध्यक्ष शम्भु प्रसाद मैनालीले जानकारी दिए । स्थानीय कृषि तथा डेरी उत्पादनको प्रदर्शनी, व्यापार तथा प्रबद्र्धन सँगै प्रविधि करणको उद्देश्य सहित आयोजना हुन लागेको प्रर्दशनी ५० हजार बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । ६० वटा स्टलमा विभिन्न कृषि उत्पादन र उपकरण प्रदर्शनीमा राखिने संयोजक केशराज थापाले बताए ।
३० लाख अनुमानित लागत रहेको प्रदर्शनीको हरिवन उद्योग वाणिज्य सङ्घ, हरिवन चेम्बर अफ कमर्स, जेसिआई हरिवन सिटी, नेपाल कृषि मेसिनरी सामाग्री व्यवसायी सङ्घ काठमाडौँ र हरिवन नगर सहकारी सञ्जाल सहसंयोजकको रुपमा रहने कार्यक्रम संयोजक थापाको भनाई छ । प्रर्दशनी मधेश प्रदेशमै डेरी तथा कृषि उत्पादनको प्रबद्र्धन र व्यवसायिकरण करण तथा प्रविधि मैत्री कृषिको लागि कोशेढुङगा सावित हुने आयोजकको दावी छ ।
प्रदर्शनीको बुधबार मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको हरिवन नगरपालिकाका प्रवक्ता मैनालीले बताए ।