लालबन्दी– सर्लाही प्रहरीले दुई छुट्टा छुट्टै स्थानबाट ठुलो परिमाणमा लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लालबन्दी नगरपालिका–२, बाट लागू औषध सहित महोत्तरीको सोनमा गाउँपालिका–२, बस्ने ३५ वर्षका रामपुजन साहलाई पक्राउ गरेको हो । उनको साथबाट ओनेरेक्स १०० एमएलको ६५ बोतल र स्पास्मो प्रोक्सिभन प्लस–१८ पत्ता(१४४ ट्याब्लेट) बरामद भएको प्रहरीले जनाएको छ । रेल्वे ट्रयाकको बाटो हुदै लागू औषध ओसार पसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नवलपुरको टोलीले चेक जाँच गरेको थियो ।
सोही क्रममा बर्दिबासबाट ज १२ प ६१२१ नम्बरको मोटरसाइकलमा सर्लाहीको हरिवन नगरपालिका स्थित डाबरी आउँदै गरेको अवस्थामा साहलाई प्रहरीले पक्राउ गरेको हो ।
यस्तै जिल्लाको ब्रह्मपुरी गाउँपालिका–५, बाट लागू औषध सहित भारतको सीतामढी जिल्ला सोनबर्षा थाना घुरघुरा टोल बस्ने २८ वर्षका नन्द पासवानलाई प्रहरीले पक्राउ गरेको छ । चेक जाँचका क्रममा बिआर ३० एफ ८६६३ नम्बरको भारतीय मोटरसाइकलमा पछाडि बसेर आउँदै गरेका पासवान पक्राउ परेका जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
चेक जाँचका क्रममा मोटरसाइकल चालक भने, प्रहरीको आखा छलेर फरार भएका छन । उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । पछि चेक जाँच गर्दा उनीहरु सवार मोटरसाइकलबाट वीनरेक्स–१०० एमएलको ५० वटा बोतल बरामद भएको प्रहरीले जनाएको हो ।
पक्राउ परेका दुवै जनालाई बरामद मोटरसाइकल र लागू औषध सहित अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।