Sunday, March 16, 2025

अन्तर प्रदेश स्तरीय भलिबल : नेपाली सेनाको भैरवी दल र महोत्तरी फाइनलमा

ताजा / भरखरै प्राप्त

हरिपुर–नेपाली सेनाको भैरवी दल र महोत्तरीको करुणा क्लब सर्लाहीको हरिपुरमा जारी भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हरिपुर नगरपालिका–७, चिताइनमा शनिबार सम्पन्न सेमिफाइनल खेलमा विजयी हुदै नेपाली सेनाको भैरवी दल गण पाँच कुमारी र महोत्तरीको करुणा क्लबले कम्तिमा उपविजेताको उपाधि रक्षा गरेका हुन । भैरवी दलले धनुषाको मिथिला बिहारी नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेको छ । प्रतिस्पर्धामा भैरवीले २५–१७, २५–२१ र २५–२० को नतिजा निकाल्यो ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा महोत्तरीको करुणा क्लबले सर्लाहीको बड्कुर्वालाई ३–० कै सोझो सेटमा पराजित गर्यो । महोत्तरीका करुणाले सर्लाहीको बड्कुर्वालाई २५–२१, २५–२३ र २५–१८ ले पराजित गरेको आयोजक लक्ष्मीनाथ युवा क्लबका सल्लाहकार चेन नारायण धामीले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल आइतबार (भोलि) दिउसो हुने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगिता अन्तरगत प्रदेश स्तरीय महिला भलिबलको लिग चरणको दुई खेल पनि आज सम्पन्न भएको छ । दिउसो महोत्तरी र सप्तरी बिच भएको प्रतिस्पर्धामा महोत्तरी विजयी भएको छ । भने, बारा र सर्लाही बिच भएको दोस्रो खेलमा बारा विजयी भएको हो ।

महिला टिमको सेमिफाइनल र फाइनल खेल भोलि बिहान र दिउसो खेलाइने र पुरुष तर्फको फाइनल खेल समेत भोलि नै हुने आयोजक क्लबका अध्यक्ष नरहरि धामीले जानकारी दिए । भलिबल खेल र खेलाडीको उर्वर भूमिको रुपमा रहेको यहाँ लक्ष्मीनाथ युवा क्लबको आयोजनामा हरेक वर्ष महाशिवरात्रिको अवसरमा अन्तर प्रदेश स्तरीय पुरुष र प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना हुँदै आएको छ ।

पुरुष तर्फ प्रतियोगिताका विजेता टिमले शिल्ड मेडल प्रमाण पत्र सहित एक लाख र उपविजेता टिमले ५० हजार नगद प्राप्त गर्ने आयोजकको भनाई छ । विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको हो । प्रतियोगितामा सर्लाही, महोत्तरी, धनुषा, बारा, सिन्धुली, मकवानपुर र एक विभागीय गरी ९ वटा टिम सहभागी छन् ।
यस्तै महिला तर्फको प्रदेश स्तरीय भलिबल प्रतियोगिताका विजेताले १५ हजार नगद सहित शिल्ड मेडल प्रमाण पत्र र उपविजेता टिमले नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिस्पर्धामा सर्लाही, बारा, सप्तरी र महोत्तरीका गरी चार टिम सहभागी भएका छन । यहाँ विगत दुई दशक बढि समय देखी भलिबल प्रतियोगिता आयोजना हुँदै आएको आयोजकको दावी छ । जिल्ला स्तरीय, अञ्चल स्तरीय, क्षेत्र स्तरीय, प्रदेश स्तरीय हुँदै अहिले अन्तर प्रदेश स्तरीय भलिबल प्रतियोगिता आयोजना भई रहेको अध्यक्ष धामीले बताउनु भयो । यस प्रतियोगितालाई राष्ट्रिय स्तरको प्रतिस्पर्धाको रुपमा लैजाने लक्ष्य रहेको उहाँको भनाई थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles