हरिवन–सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योगले ४७ जना उत्कृष्ट उखु किसान सम्मानित भएका छन् ।
आइतबार जिल्लाको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योगले पहिलो पटक ४७ जना उत्कृष्ट उखु किसानहरुलाई सम्मान गरेको हो । आधुनिक विधि र प्रविधिको प्रयोग गरी उन्नत जातको धेरै उखु उत्पादन गर्ने किसानहरुलाई सम्मान गरेको उद्योगले जनाएको हो । उद्योग परिसरमा आयोजित कार्यक्रमका बिच दोसल्ला, ओढाएर प्रशंसा पत्र सहित किसानहरुलाई सम्मान गरिएको उद्योगका उखु महाप्रबन्धक योग नारायण रजकले जानकारी दिए ।
यस किसिमको सम्मानले उखु उत्पादनमा किसानहरूलाई प्रोत्साहन गर्ने उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालकाे भनाइ छ । कार्यक्रममा सम्मानित हुनु भएकी हरिवन नगरपालिका–९, बिष्णुपुर निवासी उखु किसान पवन देवी शर्माले उद्योगले सम्मान गरेको भन्दै खुसी व्यक्त गरिन । उद्योगले दिएको बिउँ, प्रविधि र विधिको प्रयोगबाट उखु उत्पादन बढाउन सकेको उन्रकाे भनाई थियो ।

आधुनिक प्रविधिको प्रयोगबाट लागत घट्नुका साथै प्रति कठ्ठा ५० क्वीन्टल सम्म उत्पादन बढेको शर्माले बताइन् । विगतमा प्रति कठ्ठा २० क्वीटल पनि उत्पादन गर्न नसकेको खेतमा अहिले ५०÷६० क्वीन्टल सम्म उखु फलाएको अर्का किसान माधव थापाको दावी छ । सुरुमा ४ फिट दूरीमा बनाएर उखु रोप्दा कम फल्छ की भन्ने शंका लागेको भएपनि अहिले उत्पादन वृद्धि हुँदा खुसी लागेको उन्रले प्रतिकृया दिए ।
किसान सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उद्योगका अध्यक्ष राजेश केडियाले किसानहरूलाई खेतीको गुणात्मक विकासमा जोड दिन आग्रह गरे । किसानले उद्योगले सिफारिस गरेको उन्नत जातका उखु, विधि र प्रविधिबाट खेती गर्नुपर्ने उनकाे भनाई थियो । अध्यक्ष केडियाले उखु चिनी उद्योगको एक मात्र विकल्प भएकोले उद्योगले किसान सँग दूरी बढाउँछ भन्ने कल्पना समेत नगर्न आग्रह गरे।
उद्योगी केडियाले स्थानीय, प्रदेश र सङ्घ सरकारले उखु जोन कायम गरिदिनु पर्ने माग गरे। उखु उत्पादनको प्रचुर सम्भावना भएका क्षेत्र तथा उद्योग परिसरमा अन्य बाली र तरकारी बालीको पकेट क्षेत्र घोषणा गरिदिँदा उखु खेती संकटमा परेकाे उनकाे भनाइ थियाे । यस तर्फ राज्यले बेलैमा ध्यान दिनुपर्नेमा उनकाे जोड छ ।
यसैबीच किसानले कुनै पनि खेती गर्नु पूर्व त्यसको बजार र लागतको विषयमा जानकारी राख्नु पर्ने कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेव कुशवाहाले बताएका छन । किसानकाे फाइदा उत्पादनको लागत सँग भरपर्ने भएकोले कम लागतमा धेरै उत्पादन गर्न तर्फ किसानहरूले ध्यान दिनुपर्ने उनकाे भनाइ छ। खेती गर्दा प्रविधिको प्रयोग गरी लागत घटाउन र उत्पादन बढाउन सकिने भन्दै विधि र प्रविधिकाे उच्चतम् प्रयोग गर्न समेत आग्रह गरे ।
नगरपालिकाले समेत उद्योग सँग मिलेर उखु किसानको लागि सिँचाइ, प्रविधि र उन्नत बिउँ बिजन उपलब्ध गराउने योजनामा रहेको नगर प्रमुख रमेश बुढाथोकी(कमल) ले जानकारी दिए। सुख्खा क्षेत्रका प्रदेश सरकारको सहकार्यमा सिँचाइको ब्यवस्था गर्न लागेको मेयर बुढाथोकीले बताए। सिँचाइको सुविधा नभएका स्थानमा मोटरबाट पानी सिँचाइ गर्ने किसानले उपभोग गरेको विद्युतको महसुल समेत नगरले तिर्ने योजना बनाएको भन्दै सूचिकृत हुन आग्रह समेत गरे ।
देशभरीमै धेरै उखु उत्पादन हुने सर्लाहीमा तीन वटा उद्योगले उखु क्रसिङ गरिरहेका छन् । हरिवनमा इन्दुशङ्कर चिनी उद्योग, धन्कौलमा अन्नपूर्ण चिनी उद्योग र गोडैता स्थित बगदहमा महालक्ष्मी चिनी उद्योग सञ्चालनमा छ ।

