हरिवन-सर्लाहीको हरिवन नगरपालिका–८, निवासी नरबहादुर खड्काले ९२ वर्षको उमेरमा फेरी आँखा देखेको भन्दै खुसी व्यक्त गरेका छन् ।
नेपाल नेत्र ज्योति सङ्घ भरतपुर आँखा उपचार केन्द्रको आयोजना सम्पन्न निशुल्क शिविरमा आँखा उपचार पछि फेरी आँखा देखेको बताए । हरिवन नगरपालिका स्थित आँखा उपचार केन्द्र सुकेपोखरी सँगको सहकार्यमा सङ्घले निशुल्क शिविर सम्पन्न गरेको थियो । लामो समय देखी मोतिया बिन्दुको समस्याका कारण आँखाको ज्योति गुमाएको आफूले शल्यक्रिया पछि आँखा स्पष्ट देख्ने भएको वृद्ध खड्काले बताका हुन ।
खड्का जस्तै हरिवन नगरपालिका–३, निवासी राम विलास महतोले पनि ९१ वर्षको उमेरमा फेरी आँखाको ज्योति पाएको बताएका छन । महतोको पनि विगत ५ वर्ष देखी आँखाको ज्योति मोतिया बिन्दूका कारण गुमेको थियो । शिविरमा निशुल्क पाएको सेवाले फेरी नयाँ जीवन पाएको वृद्ध महतोले बताए । आँखाको शल्यक्रिया पछि बिहीबार पट्टी खोल्न आएका उनी हर्षविभोर हुँदै गहभरी आशु बनाए ।
शिविरमा ९० वर्षका अर्का वृद्ध गणेशमान घिसिङको पनि मोतिया बिन्दुको सफल शल्यक्रिया गरिएको हरिवन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो । घिसिङको तीन वर्ष पहिलाबाट दायाँ आँखामा मोतिया बिन्दु भएको थियो । त्यस पछि बिस्तारै आँखाको ज्योति गुम्दै गएको र वर्ष दिन देखी आँखा बन्द भएको बताएका हुन ।
निशुल्क शिविरमा एक सय ७५ जनाको आँखाको मोतिया बिन्दुको शल्यक्रिया गरेको आँखा उपचार केन्द्र सुकेपोखरी जनाएको छ । मोतिया बिन्दुको पहिचानको लागि हरिवन र बरहथवा नगरपालिकामा गरी पाँच स्थानमा स्कृनिङ शिविर सञ्चालन गरिएको थियो । स्कृनिङ शिविरमा एक हजार ३७ जनाले स्वास्थ्य सेवा लिएका नेपाल नेत्र ज्योति सङ्घ आँखा उपचार केन्द्र भरतपुरले जनाएको हो ।
शिविरमा २ सय ७० जना मोतिया बिन्दुका विमारी फेला परेका थिए । शिविरमा आएका मध्य एक सय ५० जनालाई निशुल्क चस्मा समेत वितरण गरिएको हरिवन नगर स्वास्थ्य शाखा संयोजक चौधरीले बताए । भरपुर आँखा अस्पतालका चिकित्सक डाक्टर रञ्जित कुमार साहको टोली उपचारमा खटिएका थिए ।