बागमती–सर्लाहीको बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि नव जन जागरण माध्यामिक विद्यालय शंकरपुरले जितेको छ ।
आइतबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण पदक सहित नव जन जागरण माध्यामिक विद्यालय शंकरपुरले राष्ट्रपति रनिङ शिल्ड हात पारेको हो । भने, ११ स्वर्ण पदक जितेको जनता माध्यामिक विद्यालय सोल्टी प्रतियोगिताको उपविजेता र तीन स्वर्ण पदक जितेको जनवाल कल्याण माध्यामिक विद्यालय धरहरा तेस्रो बनेको छ । गत माघ २४ गतेबाट सुरु भएको रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको थियो ।
प्रतियोगितामा एथलेटिक्स विधाको १५ वटा खेलमा छात्र र छात्रा बिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता अन्तरगत सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटर दौड, चार सय र एक हजार छ सय मिटर रिले दौड भएको थियो । भने, हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, सटपुट, ज्याभलिङ थ्रो, कबड्डी र भलिबलमा छात्र र छात्राले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका विद्यार्थीहरूलाई बागमती नगरपालिकाका कार्यवाहक मेयर कृष्ण लामाले पुरस्कार प्रदान गर्नु भएको थियो । नगर शिक्षा शाखाका प्रमुख मीन प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा विभिन्न विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, शिक्षिका, कर्मचारी जनप्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

यस्तै बागमती नगरपालिकाले देशकै नयाँ अभ्यासको रुपमा प्राथमिक तह तर्फ पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेको छ । प्राथमिक तह तर्फ जनकल्याण आधारभुत विद्यालय धरहरा तीन स्वर्ण र दुई रजत पदक सहित प्रथम भएको छ । भने, जनजागृति प्राथमिक विद्यालय रक्षापुर तीन स्वर्ण र एक काश्य पदक सहित द्वितीय तथा तीन स्वर्ण पदक सहित गौरी शङ्कर प्राथमिक विद्यालय पुष्करगञ्ज तृतीय भएको थियो ।

प्रतियोगितामा नगर भरीका २५ वटा सामुदायिक विद्यालयहरूले सहभागिता जनाएका नगर शिक्षा शाखाका प्रमुख उपाध्यायले जानकारी दिए ।