राजु तामाङ, लालबन्दी –माझी समुदायको संस्कृति तथा मौलिक पर्व लदी (नदी) पूजाको अवसरमा शुभकामना आदान प्रदान तथा वृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
नेपाल माझी उत्थान संघ सर्लाहीको आयोजनामा फाल्गुण १९ गते लालबन्दी नगरपालिका–७, स्थित कृषि विकास बैङ्कको मैदानमा कार्यक्रम आयोजना हुन लागेको हो । दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम गर्न लागेको नेपाल माझी उत्थान सङ्घ मधेश प्रदेश अध्यक्ष गीता माझीले जानकारी दिइन ।

मधेश प्रदेश सभा सदस्य बेची लुंगेलिको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा बागमती नगरपालिका, हरिवन नगरपालिका, लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका, बरहथवा नगरपालिका लगायतका स्थानबाट आफ्नो कला संस्कृति झल्कने भेष भुषा सहित कार्यक्रममा माझी समुदायको उपस्थिति रहने उनले बताइन । माझी समुदायको मौलिक संस्कृति कार्यक्रममा प्रस्तुत गरिने नेपाल माझी उत्थान सङ्घका सर्लाही अध्यक्ष सुसन माझीले जानकारी दिए ।
माझी जातिले परापूर्व काल देखि नै आफ्नो कुल देवताको रुपमा लदी पुजा गर्दै आएको जनविश्वास छ । छुट्टै इतिहास भाषा, संस्कार, संस्कृति पहिचान र विशेषता भएको माझी समुदायको सर्लाहीमा मात्र ९ हजार तीन सय ७३ को हाराहारीमा जनसङ्ख्या रहेको २०७८ को जनगणनामा उल्लेख छ ।