बागमती–७५औं प्रजातन्त्र दिवसको अवसरमा सर्लाहीमा पनि विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ ।

बुधबार प्रजातन्त्र दिवसको अवसरमा जिल्लाको बामगती नगर पालिकामा पनि विभिन्न कार्यक्रम सम्पन्न गरिएको हो । दिवसको अवसर पारेर बिहान बागमती–४ र १२ मा फैलिएको माछा पोखरी अर्थात भरत ताल परिसर सरसफाइ गरिएको हो । ताल तथा ताल आसपासमा रहेको फोहोर सफाइ गरेर दिवस उल्लासका साथ मनाइएको मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष गौतम खड्काले जानकारी दिए ।
तालमा परिसरमा यत्रतत्र छरिएर रहेका फोहोर व्यवसायी, नगरका कर्मचारी स्वयम् सेवक समेतको सहभागितामा सफा गरेको अध्यक्ष खड्काले बताए ।
यस्तै ७५ औँ स्थापना दिवसको अवसर पारेर जिल्लामा बिहान प्रभातफेरी, रक्तदान, सवारी चालकहरूको आखा परिक्षण लगायतको कार्यक्रम आयोजना गरिएको थियो । भने, मलङ्गवा स्थित तीन विघे मैदानमा कर्मचारी र जनप्रतिनिधि बिच क्रिकेट प्रतियोगिता समेत आयोजना गरिएको थियो । जिल्लाका विभिन्न सङ्घ संस्थाहरूको अगुवाइमा दिवसको अवसरमा अन्य कार्यक्रम समेत आयोजना भएका थिए ।
२००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काङ्ग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।