बागमती–३० औँ जनयुद्ध दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा साँझ दीप प्रज्वलन गरेका छन् ।
बिहीबार जनयुद्ध दिवसको अवसरमा जिल्लाको बागमती, हरिवन, बरहथवा, ईश्वरपुर लगायतका स्थानमा दीप प्रज्वलन गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ । पार्टीको बागमती नगर कमिटीले नगरपालिकामा दीप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाएको जनाएको हो । यस पहिला दिवसकै अवसरमा बिहान नगरपालिका परिसरमा सरसफाइ कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।

दिवसको अवसरमा नेकपा माओवादी केन्द्र हरिवन नगर कमिटीको आयोजनामा दीप प्रज्वलन गरिएको नगर कमिटी अध्यक्ष अर्जुन पन्तले जानकारी दिए । हरिवन बजार स्थित सगुन सहकारी अगाडि सडकमा साँझ दीप प्रज्वलन गरिएको पार्टीले जनाएको हो । दीप प्रज्वलन कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको समेत उपस्थिति रहेको थियो ।
दिवसको अवसरमा जिल्लाका बागमती नगरपालिका, बलरा नगरपालिका र रामनगर गाउँपालिकाले आज स्थानीय बिदा समेत घोषणा गरेका थिए । देशमा विभिन्न काल खण्डमा भएका व्यवस्था परिवर्तनका लागि गरिएका सङ्घर्ष तथा १२ वर्ष लामो माओवादी जनयुद्धको उद्घोष भएको दिनको सम्झनामा २०७९ साल फागुन १ गतेबाट नेपालमा जनयुद्ध दिवस मनाउनु सुरु गरिएको हो ।
सर्वोच्च अदालतले जनयुद्ध दिवस मनाउन रोक लगाएको भएपनि माओवादी केन्द्रले जितेका पालिकाहरूमा आज दिवसको बिदा घोषणा भएका छन् ।

