Sunday, March 16, 2025

अभिभावकलाई शिक्षककाे अनुराेध पत्र

ताजा / भरखरै प्राप्त

बागमती-आदरणीय अभिभावकज्यू,

वार्षिक परीक्षा नजिकिँदै गरेको जानकारी गराउँदै, हजुरहरूको अमूल्य साथ र सहयोगको अपेक्षा गर्दछौँ। विद्यार्थीहरूको नतिजा सुधारका लागि शिक्षा शाखा, प्रधानाध्यापक, शिक्षकहरू लगायत हामी सबै सरोकारवालाहरू निरन्तर प्रयासरत छौँ। तथापि, बालबालिकाले विद्यालयमा भन्दा बढी समय घरमै बिताउने भएकाले हजुरहरूको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहन्छ।

त्यसैले आफ्नो नानीबाबुको अध्ययनप्रति अझ बढी संवेदनशील भई, उनीहरूको शैक्षिक प्रगति र सफलता सुनिश्चित गर्न थप प्रयास गरिदिन हार्दिक अनुरोध गर्दछौँ। अभिभावक र विद्यालयबीचको सहकार्यले मात्र बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्न सकिनेछ भन्ने विश्वासका साथ उल्लेखित सुझाव तथा अनुरोध ग्रहण गरी दिनु हुन पनि हार्हिक अनुरोध गर्दछौ । वार्षिक परीक्षा नजिकिँदै गर्दा अभिभावकहरूलाई सुझाव तथा अनुरोध ।

• नियमित अध्ययनको वातावरण निर्माण गर्नुहोस्: आफ्नो नानीबाबुहरूलाई अध्ययनको लागि समय तालिका (रुटिन) बनाएर अनुशासनमा राख्नुहोस्।

• पछिल्लो नतिजाको समीक्षा गर्नुहोस्: दोस्रो त्रैमासिक परीक्षाको नतिजा हेरेर कमजोरी भएका विषयहरूमा विशेष ध्यान दिनुहोस्।

• बिहानको समयको सदुपयोग गर्नुहोस्: नानीबाबुलाई विहान चाँडो उठेर पढ्ने बानी बसाल्न प्रेरित गर्नुहोस्।

• पाठहरुको पुनरावृत्ति (Revision): पछिल्ला पाठहरू नियमित रुपमा दोहोर्‍याएर पढ्न लगाउनुहोस्।

• अघिल्ला प्रश्नपत्र अभ्यास गर्नुहोस्: अघिल्लो वर्षका प्रश्नपत्रहरू अभ्यास गराएर परीक्षाको तयारी सुदृढ गर्नुहोस्।

• विद्यालयमा नियमित उपस्थिति: वार्षिक परीक्षाका लागि कम्तीमा ७५% उपस्थिति अनिवार्य भएकाले नियमित विद्यालय पठाउनुहोस्।

• शिक्षकहरूसँग समन्वय गर्नुहोस्: नानीबाबुको तयारीका लागि कक्षा शिक्षक, विषय शिक्षकसँग समय-समयमा परामर्श गर्नुहोस्।

• डिजिटल माध्यमको सीमित प्रयोग: आवश्यकताभन्दा बढी टिभी, मोबाइल वा गेमिङमा समय खर्च गर्न नदिनुहोस्।

• घरमै अध्ययनको राम्रो वातावरण: घरमा शान्त, व्यवस्थित र अध्ययनमैत्री वातावरण सुनिश्चित गर्नुहोस्।

• अध्ययन र विश्रामको सन्तुलन: अध्ययनसँगै उचित विश्राम र मनोरञ्जनका लागि पनि समय दिनुहोस् ताकि बालबालिकामा मानसिक दबाव नहोस्।

• स्वस्थ जीवनशैली: सन्तुलित आहार, पर्याप्त निद्रा, र शारीरिक व्यायाममा पनि ध्यान दिनुहोस्, जसले मानसिक तन्दुरुस्तीमा मद्दत गर्छ।

• सकारात्मक हौसला: नानीबाबुलाई निरन्तर प्रोत्साहन दिनुहोस् र असफलताप्रति निराश नबनाइ सकारात्मक सोच विकास गराउनुहोस्।

• सक्रिय सहभागिता: बालबालिकासँग बसेर उनीहरूको पढाइको प्रगति नियमित रूपमा जाँच गर्नुहोस्।

• समस्या समाधानमा सहयोग: यदि कुनै विषयमा कठिनाइ भइरहेको छ भने त्यसको समाधान खोज्न शिक्षक वा ट्युटरको सहयोग लिनुहोस्।

• समय व्यवस्थापनको तालिम: नानीबाबुलाई परीक्षा तयारीका लागि समय व्यवस्थापनको महत्त्व सिकाउनुहोस्।

• परीक्षा डर हटाउनुहोस्: परीक्षालाई तनावको रूपमा होइन, सिकाइको प्रक्रिया भनेर बुझाउन प्रेरित गर्नुहोस्।      

नानीबाबुहरुको सिकाइ सुधारमा हाम्रा शिक्षकहरुले निरन्तर प्रयास गरीनै रहनु भएकै छ । अभिभावकहरूको सक्रिय सहयोग र सकारात्मक समर्थनले नानीबाबुको शैक्षिक सफलतामा महत्वपूर्ण भूमिका  खेल्ने हुँदा हजुरहरुको साना प्रयासहरूले पनि  नानीबाबुहरुको उज्वल भविष्य निर्माण गर्न प्रेरणा मिल्नुको साथै शैक्षिक प्रगतीमा टेवा पुग्नेछ । धन्यवाद।

(लेखक बागमती-२, धरहरामा रहेकाे श्री जनवाल कल्याण माध्यामिक विध्यालयका शिक्षक समेत हुन )

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles