Monday, January 13, 2025

हरिवनमा बेपत्ता पुरुषको हत्या गरी गाडेको अवस्थामा शव फेला

ताजा / भरखरै प्राप्त

हरिवन– सर्लाहीको हरिवनका एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा ६ दिन पछि शव फेला परेको छ ।

शनिबार हरिवन नगरपालिका–१०, निवासी ३९ वर्षका हरि प्रसाद प्रसाईको घर देखी दुई सय मिटरको दूरीमा रहेको उखुबारीमा हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको हो । खोजतलासको क्रममा उखुबारीमा गाडेको अवस्थामा प्रसाईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 

प्रहरीले प्रादेशिक अस्पताल मलङ्गवाका चिकित्सक, जिल्लाका सुरक्षा अधिकारी र सरकारी वकिल समेतको उपस्थितिमा खाल्डो खनेर शव निकालेको थियो ।  टाउकोमा गहिरो चोट लागेको अवस्थामा शव बरामद भएको प्रहरीले जनाएको छ । प्रादेशिक अस्पतालमा परीक्षण पश्चात शव आफन्तको जिम्मा लगाएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार घटनामा संलग्नको आशङ्कामा केही ब्यक्तिहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । अनुसन्धान कार्यमा बाधापुग्ने भन्दै उनीहरूको पहिचान भने प्रहरीले गोप्य राखेको जनाएको छ । हत्या गरिएका प्रसाईँ इट्टा भट्टा सञ्चालन रहेको स्थानीयले बताए ।  हत्या गरिएको अवस्थामा प्रसाईको शव फेला परेपछि गाउँनै त्रसित बनेको छ ।  

प्रसाईको  हत्या र त्यस पछिको घटना क्रम हेर्दा आपराधिक मानसिकता सहित निकै चलाखी पूर्ण ढङ्गले घटना घटाएर शव व्यवस्थापन गरेको पाइएको एक सुरक्षा अधिकारीले बताए । 

घटनाक्रम…….
मृतक प्रसाईँ गत पुस १५ गते देखी बेपत्ता भएका थिए । १५ गते बिहान पैसा लिन जान्छु भनेर बरहथवा हिँडेका उनी साँझ अबेर सम्म पनि नफर्किए पछि परिवारले आफ्ना आफन्तको सहयोगमा खोजी गरेका थिए । कतै फेला नपरे पछि १६ गते बिहान इलाका प्रहरी कार्यालय हरिवनमा निवेदन दर्ता गराएका प्रहरी उपरीक्षक श्रेष्ठले बताए । 

लगतै उनको खोजीमा जिल्लाबाट समेत थप प्रहरी टोली मगाएर खोजी र अनुसन्धान सुरु गरिएको थियो । ‘‘परिवारले १६ गते बेपत्ता भनेर निवेदन दर्ता गरेपछि प्रहरीले उहाँको निरन्तर खोजी गरिरहेको थियो ।’’ प्रहरी नायब उपरीक्षक श्रेष्ठले भने, ‘‘खोजतलासको क्रममा उनले लगाएको जुत्ता फेला परेपछि प्रदेश प्रहरी कार्यलयबाट कुकुर समेत ल्याएर खोजी गरिएको थियो ।’’

१८ गते सोही वडाको नहर छेउमा मोटरसाइकल र च्यातिएको केही फोटो समेत फेला परेको प्रहरीले जनाएको हो । त्यस पछि फेरी १९ गते खोजतलासको क्रममा घटना स्थलको केही किलो मिटरको दूरीमा मृतकको पर्स फेला परे पछि सोही आसपासमा खोजी तीब्र पारिएको र शनिबार उखुबारीमा शव गाडेको अवस्थामा फेला परेको हो ।

प्रारम्भिक मुचुल्का पछि प्रादेशिक अस्पताल मलङ्गवामा लगेर शव परीक्षण गरी आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles