रामनगर–सर्लाहीको रामनगर गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले पाँच राउन्ड गोली चलाएको छ ।
गएराती रामनगर गाउँपालिका–५, बैजनाथमा प्रहरीले मापसे चेक गरेको भन्दै वडाध्यक्षको नतृत्वमा जुलुस आएपछि स्थानीय र प्रहरी बिच झडप भएको प्रहरीले जनाएकाे छ। मापसेमा परेका युवाहरूले प्रहरी सँग झगडा गर्न थालेपछी वडाध्यक्ष श्रीनन्दन यादवको नेतृत्वमा १५० जनाको टोली चौकी घेराउ गर्न आइपुगेका प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रमुख प्रहरी निरीक्षक उज्ज्वल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको अवस्थामा स्थानीय युवाहरूले विवाद गरेका थिए ।सोही क्रममा वडाध्यक्ष रायको नेतृत्वकाे समुहले आक्रमण गर्न थालेपछी प्रहरीले पाँच राउन्ड गोली चलाइएको हो । स्वयम् वडाध्यक्ष राय समेत मादक पदार्थ सेवन गरेर हुलहुज्जत गर्न पुगेका प्रहरीकाे दावी छ ।
घटनामा केही स्थानीय सहित एकजना प्रहरी घाइते भएका छन् । प्रहरी हवल्दार शैलेन्द्र राय यादवको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि जनकपुर पठाइएको र अवस्था माध्यम रहेकाे प्रहरीले जनाएको हो ।
यता वडाध्यक्ष रायले प्रहरीले चेक जाँचको नाममा युवाहरुलाई दुख दिएको बताए । सोही क्रममा प्रहरी र स्थानीय बिच विवाद भएपछि आफू छुट्याउन गएको उनको दावी छ । घटनामा आफूले नेतृत्व गरेर आक्रमण गर्न लगाएको भन्ने आरोप निराधार रहेको समेत उनले दावी गरे ।
गएरातीको घटना पछि प्रदेश कार्यलयबाट आएको डिआइजी सहित जिल्लाका उच्च सुरक्षा अधिकारीको टोलीले उक्ता क्षेत्रको अनुगमन समेत गरेका थिए ।