Tuesday, January 14, 2025

सर्लाहीको चन्द्रनगरमा उपाध्यक्षको नेतृत्वमा अध्यक्षको कार्यकक्षमा तालाबन्दी

ताजा / भरखरै प्राप्त

चन्द्रनगर–सर्लाहीको चन्द्रनगर गाउँपालिकामा उपाध्यक्षको नेतृत्वमा अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

बिहीबार गाउँपालिकाकी उपाध्यक्ष गीता देवी महतोको नेतृत्वमा पुगेको बहुसङ्ख्यक कार्यपालिका सदस्यको टोलीले अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको हो । गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले अपारदर्शी ढङ्गले काम गरेको तथा आर्थिक र नीतिगत अनियमितता गरेको भन्दै विभिन्न माग सहित अध्यक्षको कार्यकक्षका तालाबन्दी गरेको उपाध्यक्ष महतोले बताइन् ।

तालाबन्दी गर्नु पूर्व उपाध्यक्ष महतोको टोलीले तालाबन्दी गर्नुको कारण सहित विभिन्न विवरणहरू उल्लेख गरेको पत्रहरू कार्यलयको भित्तामा टाँस गरेको छ । गाउँपालिका अध्यक्षको निर्देशनमा आफन्त र आफू निकटको नाममा मनपरी रकम निकासा गरेको विवरण समेत उक्त पर्चामा उल्लेख गरिएको छ । सवारी भाडा, मर्मत, तालिम लगायत शीर्षकमा अनधिकृत रकम निकासा गरिएको विषयमा स्पष्ट पार्न माग गरिएको छ ।

भित्तामा टाँस गरिएको पत्रमा भनिएको छ, ‘‘हामी यस चन्द्रनगर गाउँपालिकाका जनप्रतिनिधि, आम नागरिक, विभिन्न पार्टीका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी लगायत सम्पूर्ण चन्द्रनगर वासीहरु गाउँपालिका अध्यक्षको ज्यादती, तानाशाही, एकलौटी गर्न खोज्ने प्रवृत्ति विरुद्ध, निम्न बुँदागत कारण तथा मागहरूको सम्बोधनको लागि विवस भई, गाउँपालिकाका अध्यक्षको कक्षमा तालाबन्दी गर्न बाध्य भएका छौँ । यथाशीघ्र माग सम्बोधन नभएका चरणबद्ध आन्दोलन गर्न बाध्य हुने छौँ र यसबाट पर्नसक्ने सम्पूर्ण क्षति तथा असुविधाका लागि गाउँपालिका अध्यक्ष राजकुमार महतो स्वयम् जिम्मेवार हुने छन ।’’

४१ बुँदामा उल्लेख गरिएका मागहरूमा लेखा परीक्षणमा देखिएका अपारदर्शी रकम निकासा, कार्यालय प्रमुख प्रति अध्यक्षले गलत भाव राखेको आरोप, एकलौटी गर्न खोजेको, नगरका कामकारवाही अस्तव्यस्त पारेको लगायतका आरोप लगाइएको छ । ‘‘अध्यक्ष ज्यूको रबैया असह्य भएपछि हामीले कार्यकक्षमा ताला लगायका हौँ ।’’ उपाध्यक्ष महतोले भनिन, ‘‘तत्काल माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम गर्छौँ ।’’

यस पालिकामा निर्वाचित फरक पार्टीका जनप्रतिनिधि बिचको लडाइमा गाउँपालिका वासी पीडित हुँदै आएका छन् । यस कार्यकाल जनप्रतिनिधि निर्वाचित भएको पहिलो वर्षबाटै अध्यक्ष र उपाध्यक्ष पक्ष बिच जुवारी सुरु भएको थियो । यसका कारण चालु कार्यकालको दोस्रो गाउँ सभा निकै सकस पूर्ण ढङ्गले आर्थिक वर्षको निकै ढिलोगरी सम्पन्न भएको थियो ।

यस पटक पनि प्रशासकीय प्रमुखले आर्थिक अनियमितता गरेको लगायतको आरोप लगाउदै अध्यक्षले कार्यकक्षमा तालाबन्दी र मिडियाबाजी गरेको भन्दै बिवाद सुरु भएको कार्यलयका एक कर्मचारीले बताए । गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष बिच विवाद सुरु भएसँगै पालिकाको कामकारवाही प्रभावित हुने चिन्ता लागेको चन्द्रनगर गाउँपालिका–४ निवासी सिमा माझीले बताइन।

गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताला लगाएको विषयमा कुरा गर्न खोज्दा गाउँपालिका अध्यक्ष महतो सँग सम्पर्क हुन सकेन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles