हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी संस्थाले १९ औँ वार्षिक साधारण सभा र २५ औँ स्थापना दिवस(रजत जयन्ती) मनाएको छ ।
आइतबार हरिवन नगरपालिका–१, भाेक्टेनीमा संस्थाले सञ्चालन गरेको आवासीय विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमका बिच सहकारीको १९ औँ वार्षिक साधारण सभा र २५ औँ स्थापना दिवस(रजत जयन्ती) मनाएको हो । संस्था स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा विषेश कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष शम्भुलाल श्रेष्ठले जानकारी दिए ।
हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानको प्रमुख आतिथ्यतामा सभा तथा रजत जयन्ती सम्पन्न भएको संस्थाले जनाएको हो । हरिवनमा मुख्य कार्यलय रहेको यस सहकारी संस्थाले मिलनचोक, लालबन्दी, बागमती र नयाँरोडमा सेवा कार्यलय सञ्चालन गरिरहेको छ । रजत जयन्तीको अवसरमा संस्थाले संस्थापक ७० जना शेयर सदस्यहरूलाई प्रशंसा पत्र सहित सम्मान समेत गरेको छ ।
यस्तै संस्थाले गत आर्थिक वर्ष ४८ करोड ४५ लाख, ८२ हजार ३ सय ८६ रुपैयाँ १७ पैसा कुल कारोबार गरी ८१ लाख ३४ हजार ९ सय ८० रुपैयाँ दुई पैसा मुनाफा आर्जन गरेको संस्थाका निमित्त प्रबन्धक सविन हरी अधिकारीले जानकारी दिए । यस वर्ष संस्थाको कर्जा नोक्सानी व्यवस्थापनको लागि ४० लाख २५ हजार रकम छुट्याएकोले नाफा कम भएको उनको भनाई थियो ।
नाफा रकमबाट संस्थाले ११ प्रतिशतका दरले शेयर लाभांश वितरण गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष श्रेष्ठको भनाई छ ।
यस्तै संस्थाले साधारण सभाको अवसरमा विभिन्न विधामा पुरस्कृत गरेको जनाएको छ । संस्थाले उत्कृष्ट बाल बचत तर्फ खुशी कार्कीलाई प्रथम, मात्रिका सिङलाई द्वितीय र प्रशंसा श्रेष्ठलाई तृतीय पुरस्कारले पुरस्कृत गरेको छ । भने, उत्कृष्ट बचत कारोबार तर्फ दुर्गा बहादुर कार्की, उत्कृष्ट ऋण कारोबार तर्फ जयराम फुँयाललाई सम्मान सहित पुरस्कृत गरेको छ ।
यसैबीच संस्थाको आन्तरिक कर्मचारी तर्फ उत्कृष्ट बजार प्रतिनिधिमा पुनम कुमारी कार्की, उत्कृष्ट सेवा केन्द्र प्रमुखमा रोमा खत्री र उत्कृष्ट ऋण सहायकमा मिथलेश कुशवाहालाई पुरस्कृत गरेको संस्थाका व्यवस्थापक अधिकारीले जानकारी दिए । संस्थाले गत वर्षबाट सुरु गरेको सहकारी पत्रकारिता पुरस्कार यस वर्ष रेडियो एकताका समाचार संयोजक तथा गोरखापत्र दैनिकका सर्लाही सम्वाददाता जनार्जन खत्रीलाई प्रदान गरेको छ ।
सभामा मधेश प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको सहकारी विभाग शाखा अधिकृत सुनिल थापा, स्थानीय जनप्रतिनिधि विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको आतिथ्यता रहेको संस्थाले जनाएको हो । रजत जयन्तीको अवसरमा बालबालिकाहरूले नृत्य समेत प्रस्तुत गरेका थिए ।