बागमती– सर्लाहीको बागमतीमा सम्पन्न महिला प्रजनन स्वास्थ्य रुग्णताको स्कृनिङ तथा व्यवस्थापन शिविरमा ४ सय १ जनाले सेवा लिएका छन् ।
बिहीबार(आज) सम्पन्न तीन दिने निशुल्क शिविरमा ४ सय १ जनाको पाठेघरको मुखको परिक्षण गराएका बागमती नगर स्वास्थ्य शाखा संयोजक पदम बहादुर रायमाझीले जानकारी दिए । नगरपालिकाको आयोजनामा महिला रोग विशेषज्ञ चिकित्सकहरूको सहभागितामा शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा परीक्षणका लागि आएका मध्य १ सय ४८ जना महिलाको भिआइए परीक्षण गरिएको नगर स्वास्थ्य शाखाले जनाएको हो । परिक्षण गरिएका मध्य ५ जनामा भिआइए पोजेटिभ देखिएकोले उनीहरूलाई सेक्ने(थर्मोकगुलेसन) काम गरिएको स्वास्थ्य शाखा संयोजक रायमाझीले बताए ।
परीक्षणको क्रममा ७ जना महिलामा पाठेघर खस्ने समस्या फेला परेको र उहाँहरूको पाठेघरको मुखमा रिङ पेसरी राखिएको छ । चौथो तहको सङ्क्रमण देखिएको एक जनालाई अन्यत्र रिफर गरिएको थियो । ६ जनाको पाठेघरको मुखमा दोस्रो र तेस्रो तहको सङ्क्रमण फेला परेको नगर स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाले जानकारी दिए ।
नगरपालिकाले गाउँघरकै स्वास्थ्य चौकीबाट विशेषज्ञ चिकित्सक सहितको उपचार सेवा दिएको भन्दै बागमती नगरपालिका–८, निवासी रिता तामाङले खुसी समेत व्यक्त गरिन । यस पालिकाको शङ्करपुर स्वास्थ्य चौकी सोल्टी, ढुङ्ग्रेखोला स्वास्थ्य चौकी मिलनचोक र आधारभुत स्वास्थ्य केन्द्र धरहरामा गरी तीन स्थानमा पुस १६, १७ र १८ गते निशुल्क शिविर सञ्चालन गरिएको थियो ।
गाउँघरमा महिलाहरूले प्रजनन स्वास्थ्यलाई खासै ध्यान नदिने भएकाले नगरपालिकाले बेलाबेलामा शिविर सञ्चालन गर्ने गरेको नगरकी कार्यपालिका सदस्य रूपा बम्जनले बताइन ।
–––
सिंगबहादुर थापा÷९८४९४६२९८६