हरिवन– सर्लाहीको हरिवनमा चिसोले कठ्याङ्ग्रिएका परिवारलाई न्यानो सिरक वितरण गरिएको छ ।
बिहीबार हरिवन नगरपालिका–८, मा आयोजित एक कार्यक्रमका बिच ४५ वटा विपन्न परिवारलाई न्यानो फाइबर सिरक वितरण गरिएको हो । केही दिन यता लगातार बढेको चिसोले बालबालिका र वृद्ध वृद्धाहरू धेरै प्रभावित बनेका थिए । जाडोले कठ्याङ्ग्रिनु परिरहेको बेलामा न्यानो फाइबर सिरक पाएको भन्दै हरिवन नगरपालिका–८, निवासी ९५ वर्षीया लक्ष्मी थापाले खुसी व्यक्त गरिन ।
न्यानो सिरक पाएपछि ६५ वर्षका दिल कुमार विश्वकर्माले पनि निकै फुरुङ्ग हुदै खुसी व्यक्त गरेका थिए । आर्थिक रुपमा विपन्न दिल कुमारले यस वर्षका लागि जाडो छल्ने उपाय बनेको बताए । तीन दिन देखी सर्लाही सहित तराईमा बाक्लो हुस्सु र कुहिरो तथा सितलहर पर्दा व्यवस्थित आवासको समेत प्रबन्ध नभएका परिवार चिसोमा दिनरात आगो(घुर) तापेर बस्न बाध्य भएका छन् ।
बिहान बेलुका चल्ने चिसो स्याँठले थप समस्या बनाउने गरेको सर्लाहीको बागमती नगरपालिका–४, नयाँ वस्ती निवासी ७५ वर्षीय दीपमान गोलेले बताए । यसरी चिसोमा कसैले कठ्याङ्ग्रिनु नपरोस् भनेर हरिवन नगरपालिका–७ र ८ नम्बर वडाका ४५ जना विपन्न परिवारलाई जननी शैलेश फाउण्डेसनले फाइबर सिरक वितरण गरेको हो ।
६० हजार लागतमा विपन्न ज्येष्ठ नागरिकहरूलाई फाइबर सिरक वितरण गरिएको संस्थाका युवराज भण्डारीले जानकारी दिए । वितरण कार्यक्रममा समाजिक व्यक्तित्व भरत कुमार कार्की, शुकदेव कार्की, गङ्गा भण्डारी, हरिवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रयागराज पोते, शिक्षक राजन कार्की लगायतको उपस्थिति रहेको फाउण्डेसनका संरक्षक धनराज बुढाथोकीले बताए ।
हाल प्रवास अमेरिकामा बस्दै आएका शैलेस मैनाली र जननी श्रेष्ठ मैनालीले जननी शैलेश फाउण्डेसन मार्फत सामाजिक काम गर्दै आएका छन् ।