हरिपुर–सर्लाहीको हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रका विपन्न परिवारलाई न्यानो कम्बल वितरण सुरु भएको छ ।
पछिलो केही दिन देखि लगातार बढेको ठण्डीलाई मध्यनजर गर्दै ग्रामीण नारी उत्थान सङ्घ र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा कम्बल वितरण सुरु गरिएको हो । अत्यधिक चिसोका कारण विपन्न परिवार र तिनका बालबालिका तथा ज्येष्ठ नागरिक धेरै प्रभावित भएकाले कम्बल वितरण कार्यक्रम सुरु गरिएको ग्रामीण नारी उत्थान सङ्घका सचिव सूर्य चालिसेले जानकारी दिए ।
चिसोले वर्षेनी गरिब, दलित र विपन्न परिवार कठ्याङ्ग्रिने गरेका छन् । यस्ता परिवारले चिसो छल्न घुर बालेर ताप्ने गरेका छन् । चिसोले घरबाहिर निस्कन समेत नपाउँदा दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका परिवार छप सङ्कटमा परेका छन् । मधेशका दलित समुदाय अन्तरगत पर्ने मुसहर, डोम, चमार जातीहरू यसको चरम मारमा छन् ।
हरिपुर र ईश्वरपुर नगरपालिकाका बालबालिका भएका विपन्न परिवारको घर छनोट गरि ४ जनाको परिवार बराबर २ थान कमल र ४ भन्दा धेरै व्यक्ति भएको परिवारलाई सोही अनुसार न्यानो कपडा वितरण गरिएको ग्रामीण नारी उत्थान सङ्घ हरिपुरकी अध्यक्ष गोमादेवी न्यौपानेले बताइन । दुई पालिकामा गरि १७ सय ५० थान कम्बल वितरण गर्ने योजना रहेको संस्थाका सचिव चालिसेले बताए ।