Tuesday, January 14, 2025

अङ्ग्रेजी नयाँ वर्षमा लाखौँ पर्यटकले भरिए बागमतीको भरत ताल

ताजा / भरखरै प्राप्त

बागमती नदिउकास जमिनमा तयार हुँदै गरेको सुन्दर संरचना

बागमती–अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा सर्लाहीको बागमती नगरपालिका स्थित बागमती माछा पोखरी (भरत ताल) लाखौँ पर्यटकले भ्रमण गरेका छन् ।

बुधबार बागमती माछा पोखरीमा नयाँ वर्षको अवसरमा हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू आएका नगरपालिकाले जनाएको हो । मधेश प्रदेशकै चर्चित पर्यटकीय स्थलको रुपमा विकसित हुँदै गएको तालमा भ्रमण तथा मनोरञ्जनका लागि लाखौँ पर्यटकहरूको भिड लागेको थियो । यो ताल बागमती नगरपालिका–४ र १२ मा गरी १२१ बिगाहा क्षेत्रफलमा फैलिएको छ ।

भरत तालको उपमा पाएको यस मानव निर्मित पोखरीलाई पर्यटक हिसाबले विकास गर्न मोटरबोट देखी जिप लाइन सम्मको व्यवस्था गरिएको छ । पर्यटकको आकर्षणका लागि ताल परिसरमा स्काई साइकिलिङ, जिप लाइन, वाटर साइकल, जेड स्की, लगायतको सामाग्री निर्माण गरिएको छ । साहसिक खेलको रुपमा रहेको यस सामाग्रीले समेत पर्यटकहरूलाई आकर्षित गर्ने गरेको मोटरबोट व्यवसायी गौतम खड्काले जानकारी दिनुभयो ।

नयाँ वर्षको अवसरमा घुम्न आइपुगेका पर्यटकहरूले उट सवारी तथा घोडचडी गरेर समेत मनोरञ्जन लिएका थिए । पारिवारीक घुमघामका लागि भरत ताल निकै उपयुक्त रहेको धनुषाबाट घुम्न आउनु भएका रमेश श्रेष्ठले बताउनु भयो । ‘‘नयाँ वर्षको अवसरमा म पहिलो पटक घुम्न आएको हो ।’’ उहाँले भन्नु भयो, ‘‘अरुले भनेको सुनेको भन्दा निकै रमाइलो लाग्यो ।’’

बन्दै गरेको यस ताल क्षेत्र निकै व्यवस्थित पनि लागेको अर्का पर्यटक पर्साको वीरगन्ज निवासी रिङ्कु गुप्ताको प्रतिकृया थियो । घुम्ने सँगै मनोरञ्जनका लागि बिभिन्न साधन र खाजा तथा खानाको लागि समेत राम्रो प्रबन्ध रहेकोले आफूलाई समेत रमाइलो लागेको उहाँको भनाई थियो । नेपालको जनकपुर ससुराली रहेका बिहार घर भएका हरेराम चौधरीले घुम्न रुचाउने हरेकले एक पटक भरत ताल अनिवार्य घुम्नुपर्ने बताउनु भयो ।

बुधबार बिहानै देखी ताल परिसरमा नेपाल तथा भारतको बिहार राज्यका विभिन्न जिल्लाबाट घुम्न आइपुगेका पर्यटकहरूको भिड लागेको थियो । पर्यटकहरूको लागि ताल परिसरमा बागमती नगरपालिकाले सवारी पार्किङ, खानेपानी, सार्वजनिक शौचालय, शान्ति सुरक्षा लगायतको बन्दोवस्त गरेको थियो । यहा हरेक अङ्ग्रेजी नयाँ वर्षमा नेपाल तथा भारतबाट ठुलो सङ्ख्यामा पर्यटकहरू आउने गर्दछन् ।

केही समय पहिला सम्म बागमती बगर रहेको यस क्षेत्रमा ताल बनेपछि पर्यटन र व्यवसायले गुल्जार बनेको मोटरबोट व्यवसायी सङ्घका कोषाध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिनुभयो । बहुउद्देश्य सम्भावना बोकेको यस ताल निर्माणकै क्रममा पर्यटकीय हिसाबले चर्चित बनेको उहाँको भनाई छ । यस ताल मनोरञ्जन सँगै पर्यटन तथा आर्थिक उपार्जनको हिसाबले समेत निकै महत्वपूर्ण रहेको बागमती नगरपालिकाका कार्यवाहक मेयर कृष्ण बहादुर लामाको भनाई छ ।

नेपाली चाडपर्व वा सार्वजनिक बिदाको समयमा समेत यस ताल घुमघामको लागि पहिरो रोजाइ बन्ने गरेको छ । पछिल्लो समय यसरी घुम्न आएका पर्यटकहरूबाट व्यापार व्यवसाय समेत फस्टाएको व्यवसायहरू समेत उत्साहित बनेका छन् । तालमा बालबालिकाहरूका लागि प्ले ग्राउन्ड लगायत मनोरञ्जनको सामाग्री समेत राखिएको स्थानीय व्यवसायी तीर्थ श्रेष्ठले बताउनु भयो ।

बगर क्षेत्रको रुपमा रहेको नदी उकास जमिनलाई बागमती नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन अनुसार ताल निर्माण गरेर पर्यटकीय स्थलको रुपमा विकास गरेको हो । पालिकाले ठुलो क्षेत्रफलमा ताल निर्माण गरेपछि यस पालिकाको नाम देश विदेशमा समेत प्रख्यात बनेको छ । खोलाले छाडेको बगर नदी उकास जमिन हुने र त्यसमा स्थानीय तहको स्वामित्व रहने नेपाल सरकारको भु उपयोग नीति अनुसारै प्रयोग गरेको नगरपालिकाले जनाएको छ ।

आर्थिक रुपमा कम्जोर तथा व्यापारिक हिसाबले समेत विकास हुन नसकेको यस नगरपालिकालाई आर्थिक र सामाजिक तथा वातावरणीय हिसाबले समेत समृद्ध बनाउने गरी नगरपालिकाले काम गरिरहेको नगरका कार्यवाहक उपमेयर गम्भिर सिंह पाख्रिनले बताउनु भयो । चुरे काखमा निर्माण भएको यस तालले चुरे संरक्षणमा समेत टेवा पुर्याउने विज्ञहरूको भनाई छ ।

चुरेको चरम दोहनले चुरे तलका तराई भूभागहरू मरुभूमि करणको जोखिम रहेको अवस्थामा बागमती नदिमा खेर गैरहेको पानीको प्रयोगबाट यस क्षेत्रको ठुलो क्षेत्रफलको जमिन ‘रिचाज’ गर्न सकिने विज्ञहरूले बताएका छन् । नगरपालिकाले यस तालमा व्यवसायिक माछा पालनको योजना समेत बनाएको कार्यवाहक मेयर लामाले बताउनु भयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles