हरिपुर–सर्लाहीको हरिपुर नगरपालिका स्थित पिडारीमा थ्रेसर लगाउने क्रममा धान र परालको कुन्यू जलेर नष्ट भएको छ ।
बिहीबार जिल्लाको हरिपुर नगरपालिका–९, पिडारी बस्ने रबिन्द्र रायको थ्रेसर लगाउने क्रममा धान र परालको कुन्यू खरानी भएको हो । दिउसो आफ्नै खेतमा धान थ्रेसर लगाउने क्रममा मेसिन तातेर परालमा आगो सल्किएको थियो । उक्त आगलागीले रायको तीन कुन्यू पराल, १० कठ्ठा खेतको बासमती धानको थुप्रो र १० बोरा बासमती धान जलेर नष्ट भएको हो ।
आगलागीबाट रायको २ लाख २० हजार बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । घटना लगतै जम्मा भएका स्थानीय, प्रहरी तथा हरिवन नगरपालिकाबाट पुगेको बारुण यन्त्रको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगो समयमै नियन्त्रणमा आएकोले ठुलो क्षति हुन नपाएको स्थानीयको भनाई थियो ।
जिल्लामा चिसो सुरु भए सँगै बालिने घुर तथा अन्य कारणबाट समेत आगलागीको घटना बढ्दै गएकोले सचेत हुन प्रहरी स्थानीयमा समेत आग्रह गरेको छ ।