लालबन्दी–ढल्केबरबाट ल्याएको प्रसारण लाइनको तार चुँडिए पछि सर्लाहीमा बिहानै देखि बिजुली अवरुद्ध भएको छ ।
आज बिहान ७ बजे तिरबाट ढल्केबरबाट ल्याइएको १३३ केभी प्रसारण लाइनको तार चुँडिएर समस्या आएको हो । समस्याका कारण जिल्ला भरीनै बिहानैदेखि बिजुली बत्ती अवरुद्ध भएको छ । बिजुली बत्ती अवरुद्ध भएपछि विद्युतीय उपकरण सञ्चालन लगायतको गतिविधिमा समस्या भएको कृषक उत्थान डेरीका अध्यक्ष भिमसेन थापाले जानकारी दिए ।
नवलपुर स्थित सबस्टेशन नजिकै दुई किलोमिटर लामो हाइटेन्सन लाइनको तार चुँडिएर झरेकाले बिजुली अवरुद्ध भएको ढल्केबर ग्रिड महाशाखाका प्रमुख बिनोद लोहनीले बताए । लोहनीका अनुसार प्राविधिकहरूले अहिले चुँडिएको तार धमाधम मर्मतको काम गरिरहेका छन् । तार तान्ने काम सकिन कम्तिमा तीन घण्टाको समय लाग्ने र त्यस पछि थप समस्या नभए विद्युत सुचारु हुने उनले जानकारी दिए ।
यस ग्रिड स्टेसनबाट जिल्लाको लालबन्दी, बरहथवा र मलङ्गवा तीनवटै वितरण केन्द्रका क्षेत्रमा विद्युत प्रवाह हुँदै आएको छ । त्यस क्षेत्रमा पनि बिहानैदेखि बिजुली बत्ती नहुँदा समस्या भएको स्थानीयले बताएका हुन । बत्ती नभएका कारण अहिलेको साँझ पुरै जिल्ला अन्धकार मय बनेको छ ।