सर्लाही–जिल्लाको विभिन्न स्थानमा भएको छुट्टा छुटै सवारी दुर्घटनामा आधा दर्जन घाइते भएका छन् ।
सोमबार पूर्व पश्चिम राजमार्ग स्थित सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलमा धान लोड भएको म्याजिक दुर्घटनामा परेको हो । ना ५ च ९२० नम्बरको म्याजिक आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक लालबन्दी नगरपालिका–५, बस्ने २८ वर्षका सुभास राउत, धनुषा मिथिला नगरपालिका–१० बस्ने ३५ वर्षकी तुलसा श्रेष्ठ र सोही स्थानकी २८ वर्षकी संगिता माझी घाइते भएकी हुन् ।
उनीहरूको लालबन्दी स्थित गढिमाई अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो । सवारी प्रहरीले नियन्त्रणमा राखेका छ ।
यस्तै जिल्लाको बागमती नगरपालिका–११, डुमाजोर पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरा घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग स्थित पुलनजिकै तीब्र गतिमा रहेको स ११ प २७२७ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक हरिपुर नगरपालिका–७, निवासी ३० वर्षका प्रशान्त चौधरी र उनका बुबा ५५ वर्षका राम शोगारथ चौधरी घाइते भएका हुन । मोटरसाइकल उच्छिटियर पुलको बारमा ठोक्किएको थियो ।
घाइते दुवै जनाको हरिवन स्थित नमुना अस्पतालमा उपचार भइरहेको पहरीले जनाएको छ । घाइतेको हात, खुट्टा, टाउको, आँखा, ढाड र छातीमा समेत चोट देखिएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको हो ।
यसैबीच हरिवन नगरपालिका स्थित सुकेपोखरी पुलमा स्कुटर दुर्घटना हुँदा एक एक पुरुष घाइते भएका छन ।
इलाका प्रहरी कार्यालय हरिवनका अनुसार हरिवन नगरपालिका–९, सुखेपोखरी पुल नजिकै प्रदेश ०२–०४६ प ९३८३ नम्बरको स्कुटर दुर्घटनामा परेको हो । स्कुटर दुर्घटनामा स्कुटर चालक सोही स्थानका ५१ वर्षका जनक बहादुर गौतम घाइते भएका प्रहरीले जनाएको हो । घाइते गौतमको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
बारामा लागि रहेको महागढिमाई मेला भर्न जाने भक्तजनहरूको कारण आइतबार देखी पूर्व पश्चिम राजमार्गमा सवारीको चाप अत्यधिक भएको छ । सवारी अत्यधिक हुँदा दुर्घटनाको जोखिम समेत बढेको भन्दै सावधानीका साथ यात्रा गर्न जिल्ला ट्राफिक कार्यालय सर्लाहीले यात्रुहरूमा अनुरोध समेत गरेको छ ।