लालबन्दी–वडा सदस्यको निधनमा लालबन्दी नगरपालिकाले शोक बिदा घोषणा गरेको छ ।
आइतबार एक सूचना जारी गर्दै नगरपालिकाले वडा नम्बर–३, जब्दीका वडा सदस्य जोधन ठाकुर हजामको निधन प्रति दुःख व्यक्त गरेको हो । नगरका मेयर बासुदेव अधिकारीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ । वडा सदस्य ठाकुरको २०८१ साल मंसिर ३० गते दिउसो असामयिक निधन भएको हुँदा लालबन्दी नगरपालिका परिवार दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
साथै, भोलि मिति २०८१ साल पुस १ गते सोमबारका दिन यस नगरपालिका अन्तरगतका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, शैक्षिक तथा वित्तिय सङ्घ संस्थाहरू समेत शोक बिदामा बन्द रहने व्यहोरा जानकारीको लागि सूचित गरिन्छ । नेपाली काँग्रेसबाट निर्वाचित ७२ वर्षीय वडा सदस्य हजाम दुवै मृगौलाले काम गर्न छाडे पछि केही समय यता उपचार गराइ रहेका थिए ।
उनको जब्दी स्थित आफ्नै घरमा निधन भएको लालबन्दी–३ का वडाध्यक्ष बुद्धदेव चौधरीले जानकारी दिए ।