लालबन्दी–सर्लाहीको लालबन्दीबाट प्रहरीले भन्सार छलीको लाखौँ मूल्य बराबरको कपडा बरामद गरेको छ ।
सोमबार सूचनाको आधारमा जिल्ला भन्सार कार्यालय मलङ्गवाका प्रतिनिधि र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले अवैध कपडा बरामद गरेको हो । टोलीले लालबन्दी नगरपालिका–७, स्थित अशोक कुमार जोशीको घरको कोठा भाडामा लिएर अवैध भन्सार छलीको कपडा गोदाम गरेको सूचना पछि छापा मारेको थियो ।
छापामारीको क्रममा कागजात नरहेको ४ लाख ५९ हजार ७ सय रुपैयाँ बजार मूल्य बराबरको जाडोको लुगा बरामद गरेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको हो । बरामद कपडाहरूमा गलबन्दी, कुर्ता सलवार, लेडिज स्विटर, लेगिज, महिला तथा पुरुषले लगाउने ज्याकेट र लेडिज फ्रक गरी ९ सय २६ जान कपडा रहको प्रहरीले जनाएको छ ।
बरामद कपडाहरू आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको हो । बरामद कपडा कसको हो ? भन्ने बारे प्रहरीले सार्वजनिक गरेको छैन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।