राजु तामाङ, हरिवन–सर्लाहीको हरिवनमा बौद्ध धर्म सम्बन्धी एक दिने धर्मदेशना प्रवचन हुने भएको छ ।
सोमबार(आज) हरिवन नगरपालिका–४, तिनघरेमा नाङ्सल थर्पालिङ्ग गुम्बा प्राङ्गणमा प्रवचन आयोजना हुन लागेको हो । धर्मादेश प्रवचन आयोजनाको लागि हरिवन–४, वडा कार्यालयले समेत सहयोग गरेको छ ।
हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीको विशेष उपस्थितिमा नेपाल बौद्ध धर्म परिचय समाजका प्रवक्ता समेत रहेका गेसे निमा तामाङले आधारभूत बौद्ध धर्म र दैनिक जीवनको अभ्यास सम्बन्धी एक दिने धर्मदेशना प्रवचन दिने भएका हुन । प्रवचन पछि गुम्बा परिसरमा छ महिना लामाको छ्योइ अध्ययन सम्बन्धी सम्भोटा लिपि सम्बन्धी पठनपाठन समेत सञ्चालन हुने भएको छ ।
आफ्नो वडा भित्र बसोबास गर्ने तामाङ समुदायको धर्म, संस्कृतिको जगेर्नाको निम्ति कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष केशवराज थापाले जानकारी दिए । इच्छुकले धर्मदेशना प्रवचन कार्यक्रममा उपस्थित हुन सक्ने कार्यक्रम संयोजक शेर बहादुर तामाङले बताए ।
यस अघि कार्तिक १३ गते बागमती नगरपालिका–४, जिरायतमा पनि नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले दुई दिने धर्मदेशना प्रवचन आयोजना गरेको थियो ।