राजु तामाङ, बागमती– सर्लाहीको बागमतीमा जारी प्रथम जिरायत कप जिल्ला स्तरीय फुटबल प्रतियोगितामा महाकाली युवा क्लब लालबन्दी र आरएफसी हरिवन विजयी भएको छ ।
प्रतियोगिता अन्तरगत आइतबारको पहिलो खेलमा लालीगुँरास युवा क्लब बरहथवालाई ट्राइबेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै महाकाली युवा क्लब लालबन्दी विजयी भएको हो । ९० मिनेटको खेल अवधिमा दुवैले गोल रहित बराबरी खेले पछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको हो । यस खेलमा महाकालीका गोर रक्षक अमन भोलन म्यान आफ द म्याच घोषित भए ।
यस्तै प्रतियोगिता अन्तरगतको दोस्रो खेलमा आरएफसी हरिवनले आयोजक(ए) टिमलाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलको ३५ औँ मिनेटमा आरएफसी हरिवनका लागि दिपेश चाम्लिङ राईले टिमको लागि गोलको खाता खोलेका थिए । खेलको ५० औँ मिनेटमा क्षितिज भण्डारीले गोल गरेपछि आरफसी २–० ले विजयी भएको हो । जित सँगै आरएफसी हरिवन प्रतियोगिताको सोमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको म्यान अफ द म्याच आरएफसीका दिपेश चाम्लिङ राईले प्राप्त गरेका छन् ।केही समय पहिला मात्र सडक दुर्घटनामा परेर दिवङ्गत हुनु भएको क्लबका पूर्व उपाध्यक्ष मान बहादुर प्रधान(राजु) प्रति श्रद्धाञ्जली समेत अर्पण गरिएको क्लबले जनाएको हो ।
बागमती नगरपालिका–४, स्थित ॐ युवा क्लबको खेल मैदानमा भइरहेको प्रतियोगिता अन्तरगत भोलि सोमबारको पहिलो खेल महाकाली युवा क्लब लालबन्दी र किस्मत युवा क्लब बागमती–५, बिच हुने छ । भने, दोस्रो खेल अर्थात पहिलाे सेमिफाइनल खेलमा आरएफसी हरिवन र रतनपुर युनाइटेड युथ क्लब बारा बिच प्रतिस्पर्धा हुने भएको छ ।
मंसिर २० गते फाइनल हुने खेलको विजेता टोलीले नगद ५० हजार ५१ रुपैयाँ सहित प्रथम जिरायत कप, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले नगद २५ हजार ५१ रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष जित बहादुर विश्वकर्माले जानकारी दिए ।
‘‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’’ भन्ने नारा सहित स्थानीय स्तरमा खेल क्षेत्रको विकास तथा खेलाडीको प्रोत्साहनको उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएका हो ।