बागमती–सर्लाहीको बागमतीमा रहेको जनकल्याण दुग्ध सहकारी संस्थाको अध्यक्षमा सूर्यबहादुर कार्की चयन भएका छन् ।
शनिबार बागमती नगरपालिका–२, डाबरी स्थित संस्था प्राङ्गणमा सम्पन्न भएको वार्षिक साधारण सभा तथा भेलाले सहकारीको अध्यक्षमा कार्कीलाई सर्वसम्मतिले चयन गरेको हो । संस्थाका निवर्तमान अध्यक्ष डोलराज पाण्डेको अध्यक्षतामा भएको भेलाले कार्कीको अध्यक्षतामा ७ सदस्य समिति गठन गरेको हो ।
यस्तै संस्थाको उपाध्यक्षमा मणि पाण्डे र सदस्यहरूमा मुक्तिराम दहाल, कमला पति पाण्डे, सोभा देवी सुवेदी, होमा देवी गैरे र प्रेम नारायण अधिकारीलाई चयन गरेको हो । समितिको सचिव र कोषाध्यक्ष यही सदस्यबाट पछि छलफल गरी टुङ्गो लगाइने संस्थाले जनाएको छ ।
उक्त सभाले गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन समेत पारित गरेको थियो । निवर्तमान अध्यक्ष पाण्डेले उक्त संस्थालाई ३३ वर्ष सम्म नेतृत्व गरेका भन्दै संस्थाले उहाँको योगदानको सम्मान गरेको जनाएको छ । संस्थालाई व्यवस्थापन गरी थप सशक्त बनाउने विषयमा समेत भेलाले विभिन्न निर्णय गरेको छ ।